वेबटिभी खबर
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका-६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले आक्रमण गर्दा चितुवाकाे मृत्यु भएकाे छ ।
आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए ।
घर नजिकै पातीको झयाङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हान्दा चितुवाकाे मृत्यु भएकाे हाे ।
चितुवाको आक्रमणबाट हरिनास-६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन । आफ्नो ज्यानको सुरक्षा गर्ने क्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ ।
मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरूवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ । वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij