वेबटिभी खबर
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरूद्व भएको छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका हुन् ।
सेवा अवरूद्व भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ । टेलीफोन सेवा अवरूद्व भएपछि कहाँ र कसरी अवरूद्व भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।
यहाँका नागरिकहरू फोन गर्नकै लागि अग्लो डाँडामा चढेर घण्टौ कुरेर फोन गरी फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताएका छन् ।
जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित बनेका छन् । दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
यस्तै इन्टरनेट सेवा अवरूद्व हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न पनि समस्या भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij