Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्थानीय निर्वाचन : सर्लाहीमा एमालेलाई चुनौती 

स्थानीय निर्वाचन : सर्लाहीमा एमालेलाई चुनौती 

  • 999
    SHARES
  • स्थानीय निर्वाचन : सर्लाहीमा एमालेलाई चुनौती 

    सर्लाही । गत स्थानीय निर्वाचनमा सर्लाहीका महत्त्वपूर्ण नगरपालिकामा निर्वाचन जितेको नेकपा एमालेलाई यस पटक ती पालिकामा जित्न चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

    पार्टी फुटको असरले केही कमजोर बनेको एमालेभित्र टिकट वितरणमा समेत समस्या देखियो । गत निर्वाचनमा एमालेले राम्रै मतान्तरले जितेको लालबन्दी नगरपालिकामा एक जनालाई दिइसकेको टिकट मनोनयन गर्ने अन्तिम दिन अर्काेलाई दिइयो ।

    अघिल्लो पटक मेयर जितेका मानबहादुर खड्काले टिकट पाइसकेपछि एमालेले गोविन्द महतलाई टिकट दियो । दुबै जनाले मनोनयन दर्ता गराए पनि खड्काको फिर्ता लिएर महतलाई कायम गरियो ।

    एक जनालाई दिएको टिकट फेरि अर्काेलाई दिँदा त्यसले प्रतिकूल प्रभाव पारेको एमालेका नेताहरू नै बताउँछन् । त्यसमाथि लालबन्दी नगरपालिकामा माओवादी र नेकपा एसले तालमेल गरेका छन् ।

    मेयरमा माओवादी र उपमेयरमा नेकपा एस हुने गरी तालमेल भएको हो । लालबन्दीमा कांग्रेसले पनि माओवादीका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ताको पत्र केन्द्रबाट गए पनि समय नाघेर पत्र गएकाले कांग्रेसको उम्मेदवारी भने कायम छ ।

    एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले टिकटको निर्णय गर्दा पहिला नै ध्यान नदिएकाले लालबन्दीमा अलि अन्योलजस्तो देखिए पनि अब अवस्था सामान्य हुँदै गएको दाबी गरे ।

    ‘एउटालाई टिकट दिएर फेरि अर्काेलाई टिकट दिने निर्णय गर्दा अन्योल हुनु स्वभाविक हो,’ उनले भने, ‘क्रमशः  यसको असर कम हुँदै गएको छ । पाएको टिकट खोसिदा खिन्नता हुनु स्वभाविक हो । सबै साथीहरूले पार्टीको निर्णयलाई स्वीकार्नु हुन्छ ।’

    एमालेले गत निर्वाचनमा सर्लाहीका २० स्थानीय तहमध्ये हरिवन, लालबन्दी, हरिपुर र ईश्वरपुरमा प्रमुख र उपप्रमुख दुबै पदमा जितेका थियो । हरिवन र लालबन्दी पूर्वपश्चिम राजमार्गमा पर्ने जिल्लाकै महत्त्वपूर्ण नगरपालिका हुन ।

    ईश्वरपुर व्यापारीक केन्द्र र हरिपुर जिल्लाकै पुरानो बजारमध्येमा पर्छ । यी चार तहमा जित्नुले एमालेको प्रभाव बढाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । नेकपा माओवादी केन्द्रसँगको एकता टुटेको छ भने एमाले पनि टुक्रिएको छ ।

    एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जिल्लाका प्रभावशाली नेताहरू गएकाले उनीहरू पनि शक्तिशाली नै छन् । एमालेले जितेको दुई वटा प्रदेश सांसद नेकपा एसमा गएका छन् । लालबन्दी नगरपालिकासहितको क्षेत्र पर्ने प्रदेशकी सांसद बेची लुंगेली र हरिवनसहित निर्वाचन क्षेत्र पर्ने डिल्लीप्रसाद उप्रेती नेकपा एसमा जानुले एमालेलाई असर गरेको छ ।

    त्यसैगरी प्रभावशाली पुराना नेता लक्ष्मण पौडेललगायतका नेताहरू नेकपा एसमा हुँदा एमालेलाई प्रभाव पर्नु स्वभाविक हो । हरिपुर नगरपालिकामा एमालेबाट जितेका मेयर जमरूद्दिन मंसुर नेकपा एसमा गएर सोही पार्टीबाट मेयरको उम्मेदवार बनेका छन् ।

    हरिवनमा एमालेका पुराना नेता सुरेन्द्र लामा नेकपा एसको उम्मेदवार छन् । लामा नेकपा एसको जिल्ला अध्यक्ष पनि हुन् । उनको हरिवनमा राम्रो प्रभाव छ । एमाले अध्यक्ष साहले पार्टी विभाजनले खासै असर नपार्ने दाबी गर्छन । त्यसमाथि सर्लाहीमा गठवन्धन नभएकाले पनि त्यसको सिधा फाइदा एमालेलाई पुग्ने उनको आकलन छ ।

    ‘पार्टी फुटेर केही नेता र कार्यकर्तामात्र दायाँ–बायाँ भएको हो,’ उनले वेबटिभी खबरसँग भने, ‘जनता एमालेको पक्षमा छन् । केपी ओलीको नेतृत्वमा जसरी एमालेले जनताको पक्षमा काम गरेको छ, त्यसले जनताको सहानुभूति हाम्रो पार्टीप्रति देखिन्छ ।’

    पार्टी छाडेको जनप्रतिनिधिले एमाले भएकै कारण मात्र विगतमा निर्वाचन जितेको साहको भनाइ छ । ‘अहिले हेर्दा प्रदेश सांसदले पार्टी छाडेकोजस्तो देखिए पनि उहाँहरू एमाले भएका कारण मात्र जनताले पत्याएर प्रदेश सांसद बन्नु भएको भन्ने बुझ्न जरूरी छ,’ उनले भने, ‘किनकी जनताले एमालेको उम्मेदवारलाई जिताउनु भएको हो ।’

    हरिपुर नगरपालिका बाहेक जितेका अरू तहमा एमाले मजबुत रहेको उनको भनाइ छ । उनले पार्टीभित्र गुटवन्दी गर्ने शक्ति नै बाहिरिएकोले एमाले अझ चुस्तदुरूस्त भएको बताए । साहले यो पटक पहिला जितेका स्थानमात्र नभएर जिल्ला व्यापी एमालेको ‘क्रेज’ बढेको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij