Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीमा औलोका ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णालीमा औलोका ३२ बिरामी, छ स्थान उच्च जोखिममा

  • 535
    SHARES
  • कर्णालीमा औलोका ३२ बिरामी, छ स्थान उच्च जोखिममा

    कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ प्रदेशमा औलोका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका ६ वडा उच्च जोखिममा छन् ।

    स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।

    मध्येम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका-२, सर्केगाड गाउँपालिका-२, ताजाकोट गाउँपालिका-२, सुर्खेतको भेरीगंगा नगरपालिका-७, वीरेन्द्रनगर नगरपालिका-१०, गुर्भाकोट नगरपालिका-१३, लेकबेँसी नगरपालिका-७ र १०, पञ्चपुरी नगरपालिका-९ रहेका छन् ।

    कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परेपनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्विका कारण लामखुट्टे देखिन थालेको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना, हुम्लामा ५, मुगुमा ६, कालिकोटमा ३, दैलेखमा १, सल्यानमा २ र रूकुमपश्चिममा १ जना रहेका छन् ।

    मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् ।

    औलो रोगका परजीवि भएको लामखुट्टेले टोकेको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरू देखा पर्दछन् । निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ ।

    अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्षित गरी यस वर्ष २ हजार ६७१ थान झुल वितरण गरिएको बताए । नेपाल सरकारले २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij