वेबटिभी खबर
पाल्पा । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पहिलाे दिन १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए ।
परीक्षामा जिल्लाका १३६ विद्यालयका परीक्षार्थी सहभागी भएका थिए । यस जिल्लामा परीक्षाका लागि २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विद्यार्थीको संख्या ४ हजार ८४१ भएपनि पहिलो दिन १२७ विद्यार्थी अनुस्थित रहेको कार्यालयले जनाएकाे छ । परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको काम गरिएको छ ।
परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको हो । जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रूपमा परीक्षा भएको छ ।
विगत २ वर्ष कोभिड-१९को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । शुक्रबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा वैशाख २० गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij