वेबटिभी खबर
नेपालगञ्ज । भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रूपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । अहिले रूपैडियामा हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए ।
गत चैत महिनामा ६ हजार ४०० को एन्टिजेन परीक्षणमा ४ जनामा कोरोना पोजेटिभ देखिएका थियो तर अहिले गरिएको परिक्षणमा पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमाक्षेत्रमा खोप कार्डलाई अनिवार्य गरिएको छ ।
‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौं’, उनले भने । खोपका कारणले विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए ।
सो सीमा क्षेत्रबाट ४ हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए ।
संक्रमण बढेको अवस्थामा जिल्लामा कयौंको मृत्यु भएको थियो । भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा.संकेत कुमार रिसालले अहिलेसम्म कोभिड संक्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए ।
‘अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।’ उनले भने । नेपालमा पनि संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij