वेबटिभी खबर
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ९ महिनामा ३९ लाख ५२ हजार रूपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक निमय उल्लंघन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा सो राजश्व संकलन भएको हो ।
विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।
ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै जिल्लामा ९ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij