वेबटिभी खबर
गुल्मी । गुल्मीको मदाने गाउँपालिका-४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उनले कालीमाटी, ढाडा, गैरापधेंरा लगायत स्थानमा पुग्ने गर्थिन ।
ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उनको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उनको दैनिक जीवन धेरै सहज बनेको छ ।
कहिलेकाँही पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी बताउछिन् । ‘बिहानै उठेर पानी लिन तलको पधेंरोमा जान्थ्यौं, फर्केर आउँदा लडेर घैंटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो’, उनले भनिन् ।
‘बाटैमा घैंटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्यो ।’ अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उनको भनाइ छ ।‘घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपना जस्तै लाग्छ’, झमाकुमारीले भनिन् ।
‘गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।’ पधेंरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासी बीच झगडासमेत हुन्थ्यो तर आज भोली ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उनको घरमा खानेपानीको धारा जडान भएको छ ।
‘बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ’, डिम्पलले भनिन्, ‘पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।’ घरमै पानी आएदेखि पुस्तौंदेखि कुवा र पधेंरोमा धाउने बाध्यता हटेको छ । त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउने लगायत काममा पानी आएपछि धेरै सहज भएको छ ।
‘निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उनले भनिन्, ‘घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधि प्रति विश्वास बढेको छ ।’
म्यालपोखरीमा ‘एक घर, एक धारा’अवधारणा अन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पुर्याइएको छ । संघ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पुर्याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिए । म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् ।
जसका लागि ४ करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । ‘पानी पुर्याउने प्रतिबद्धता जनाएर भोट मागेका हौं’, वडाध्यक्ष भट्टराईले भने, ‘विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी वाचा पूरा गर्यो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij