वेबटिभी खबर
बलेवा । बाग्लुङ जिल्लामा हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती गर्न सुरु गरेको छ । काठेखोला गाउँपालिका-७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती सुरु गरेको हो ।
बहुवर्षे उत्पादन दिने फलफूलका बिरूवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रूखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने भन्दै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरूवा लगाउन सुरु गरेको हो ।
पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधीजन्य जडीबुटीका बिरूवा वनमा लगाइएको लामिछानेले बताए ।
साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा २ हजार ५०० बिरूवा लगाइएको उनले जानकारी दिए । डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए ।
रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरूवा लगाउन थालिएको उनले बताए । वनमा फलफूलका बिरूवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ ।
‘चिलौने, उत्तिस, अँगेरीलगायतका बिरूवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन’, उनले भने, ‘वनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।’ वन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले भनेको छ ।
बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुरलगायतका औषधीजन्य जडीबुटीबाट सामुदायिक वनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताए ।
‘फलफूलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रूख नमास्ने र खाली जमिनमा फलफूल लगाउने गरिएको छ’, उनले भने, ‘बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।’
रेशमा ९ वटा सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले बताए । अघिल्लो आर्थिक वर्षमा ५ लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरूवा लगाएको वडाले ती बिरूवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ ।
रेशका सामुदायिक वनमा हुने घाँसले किसानलाई पशुपालन र खेतीपातीमा सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij