वेबटिभी खबर
झापा । बिर्तामोड नगरपालिका क्षेत्रभित्र बनाइएका कतिपय सडक मापदण्ड विपरीत बनेका भन्दै सडक अनुगमनका क्राममा भत्काउनुपरेको नगरकी उपप्रमुख पवित्रा महतराले बताएकी छिन् ।
उनले प्राविधिकहरूको कमजोरी र ठेकेदारको लापरवाहीका कारण तोकिएको मापदण्डभन्दा बढी कमसल भएका कालोपत्रे सडक भत्काएर पुनः निर्माण गराएको बताएकी हुन् ।
एक महिनाअघि मात्र वडा नं-८ को प्रगतिनगर शङ्करवाडी टोल जाने निर्माणाधीन कालोपत्र सडक अनुगमनमा पालिकाको इञ्जीनियर, प्राविधिकसहित पुगेकी उनले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन बनाएको भन्दै भत्काएकी थिइन् ।
पाँच वर्षको अवधिमा बिर्तामोड नगरपालिका आफैँले ५४ किलोमिटर कालोपत्र सडक, ५८० किलोमिटर मर्मतसहित ग्राभेल, ६५ वटा पुल, बक्स कल्भर्ट, तीनवटा फलामे पुल, १२ किलोमिटर पक्की पुल, ३९८ जनालाई विपन्न आवास (टिनको छानो) र १३९ जनालाई जनता आवासमार्फत (टिनको छानो) निर्माण गर्ने काम गरेको उनले जानकारी दिइन् ।
पालिका उपप्रमुखको अधिकारअनुसार अनुगमनको जिम्मेवारी पाएकी उनले धेरै स्थानमा ठेकेदारसँग निर्माणको विषयमा भनाभनसमेत भएको बनाइन् । ‘उनीहरू कमजोरी लुकाएर भाग्न खोज्थेँ’, उनले भनिन्, ‘तर मैले जनभावना विपरीत काम र मापदण्ड विपरीत गरिएका कार्यलाई कहिल्यै प्रोत्साहन गरिनँ ।’
उनले नगरमा संघीय सरकार र प्रदेश सरकारको सहयोगमा बन्दै गरेका संरचनामध्ये नगर अस्पतालको काम ८० प्रतिशत पूरा भएको, पुरानो भद्रपुर रोडमा २ हजार २०० मिटर सडक कालोपत्र, बिर्ताबजार-यातायात कार्यालय हाइवे सडक कालोपत्र १ हजार ९०० मिटर, बिर्ताबजार घैलाडुब्बा सडक कालोपत्र ५४० मिटर, अतिथि सदन जगत् बस्ती सडक कालोपत्र पेभर्स, पक्की नाला १ हजार ६५० मिटर बनाइएको बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij