Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व

पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व

  • 391
    SHARES
  • पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्व भएको पाँच महिना भएको छ । मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको हो ।

    गत मंसिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन । पाँच महिना टेलिफोन सेवा अवरुद्व हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिन नसकेकाे हाे ।

    सिमकोट-७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले बताइन् । धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।

    धारापोरीको ठाडा ढुंगा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी संगीता शाहीले बताइन् ।

    टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनीहरूकाे भनाइ छ । सिमकोटमा रहेको नमस्ते टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ ।

    त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मंसिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्व भएको हो । हाल यहाँका वासिन्दा लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन सकेका छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij