Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र गर्न सुरु

ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र गर्न सुरु

  • 402
    SHARES
  • ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र गर्न सुरु

    गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ जिल्ला सदरमुकामअन्तर्गत दुवै खण्डमा कालोपत्रको काम एकै पटक सुरु गरिएको छ ।

    बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको छ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एकसाथ कालोपत्र सुरु गरिएको हो ।

    लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत  जिल्लाको सदरमुकाम खण्डमा फागुनदेखि कामले तीव्रता पाएसँगै कालोपत्र पनि थालिएको हो ।सदुमुकामको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको २५ किलोमिटर सडक बागलुङ बजारदेखि र घोडाँबाधेदेखि एकसाथ कालोपत्र सुरु गरिएको छ ।

    मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अन्तिम चेतावनीपछि ठेकेदारले सडक कालोपत्र थालेको हो । अहिले उक्त खण्डमा दुई सयभन्दा बढी श्रमिक तथा सानाठूला ५० भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रको काम सुरु गरिएको छ  ।

    हाल भइरहेको कामको प्रगति देख्दा लोकमार्ग कालोपत्रले सार्थकता पाउने आशमा स्थानीयवासी रहेका छन् । २६ वर्षदेखि सडकको धुलो खाँदै आएका सडक कालोपत्र गर्न थालेपछि खुसी लागेका बागलुङ नगरपालिका-४ हाडेपाखाका देवी शर्माले बताइन् ।

    ‘लोकमार्गमाथि भएको घरमा धुलोले निकै समस्या थियो, सडकको धुलो खान थालेको २६ वर्ष भयो, बल्ल कालोपत्रका लागि काम भइरहेको छ,’ उनले भनिन् । अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ कालोपत्रका लागि उपल्लाचौरबाट सुरु गरिएको र उपल्लो खण्डको राइटेपोखरीदेखि सापकोटा चोक हुँदै अमर मावि घुम्टीसम्म कालोपत्र भइरहेको स्थानीयवासी दिवस कँडेलले जानकारी दिए ।

    लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा एकैपटक कालोपत्र गर्न  निरन्तरका लागि पहल र समन्वयका कारण सहज भएको र चैत मसान्तसम्म करिब १० मिलोमिटर सडक कालोपत्र गर्ने गरी ठेकेदार काममा खटिएको लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

    ‘उपल्लाचौर र बिहुँबाट कालोपत्र थालिएको छ भने अछेते र तल्लो बिहुनमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ ढिलै भए पनि सडक कालोपत्र थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसिस स्कुलदेखि बिटामिन छर्ने, धुलो उठाउने र कालोपत्र गर्ने काम सुरु गरिएको छ भने माथिल्लो खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।’

    उक्त खण्डको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान गर्ने कार्य भइरहेको छ । लोकमार्गको सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको ६ वर्ष पुग्न लाग्दा कालोपत्र सुरु भएको भन्दै निरन्तरको दबाबपछि ठेकेदारले सडक कालोपत्र थालेकाले बागलुङवासी खुसी भएका अधिकारकर्मी राम शर्माले बताए ।

    लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर-अक्षेते-बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का संझौता गरिएको थियो ।

    उपल्लाचौरदेखि अक्षेते-बिहुँ खण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।

    कूल १ हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटरमध्ये बागलुङमा २५ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij