Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नियन्त्रण बाहिर तोराखेतको पहिरो, उच्च जोखिममा दुई गाउँ

नियन्त्रण बाहिर तोराखेतको पहिरो, उच्च जोखिममा दुई गाउँ

  • 500
    SHARES
  • नियन्त्रण बाहिर तोराखेतको पहिरो, उच्च जोखिममा  दुई गाउँ

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली तोराखेतको पहिरा नियन्त्रणको कुनै उपाय नभएपछि दुईवटा गाउँ उच्च जोखिममा परेका छन् । डेढ दशक अघिदेखि खस्न सुरु गरेको यो पहिराले वर्षेनी उग्ररूप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका हुन् ।

    पहिराे नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका-३ तोराखेत र बेनी नगरपालिका-२ बगरफाँटका ३० भन्दाबढी घर उच्च जोखिममा परेका छन् भने पहिराकै कारण तोराखेतका १७ र बगरफाँटमा ४ घर परिवार विस्थापित भएका छन् ।

    २०७२ सालको भूकम्पका कारण जमिनको सतहलाई खल्बल्याएपछि उक्त पहिरो थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए ।

    शुक्रबार पहिरोको निरीक्षणका लागि तोराखेत पुगेका कार्की र नेपाली कांग्रेस म्याग्दीका नेता तथा भकिम्लीका स्थानीयवासी दुर्गाराम सुवेदीले तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको, मुख्य पहिराको तलपट्टिका वस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको बताए ।

    माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिनेक्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा वसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका-२ ज्यामरूककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

    तल विशाल चट्टाने पहरोकोबीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मिटर माथिबाट भकुण्डे-भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानी सम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासी बताउँछन् ।

    कमजोर भू-बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जंगल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरा तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

    तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका-२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपिरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताए ।

    भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमाभन्दा यस वर्षको वर्खायाममा बगरफाँट गाउँ खतरायुक्त रहेको छ । स्थानीयवासीका अनुसार विगतको वर्षका तुलनामा यस वर्ष तोराखेतको वस्ती नजिकको जमिन धेरै नै भासिएको छ ।

    गाउँको पूर्वपट्टि करिब ३५० मिटरको दुरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिन पनि ठाडोमुख चिरिएको छ । पहिराका कारण सदरमुकाम बेनीबजारसँगै सीमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी त्रसित हुने गर्दछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij