Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

४० हजार बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित  

४० हजार बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित  

  • 400
    SHARES
  • ४० हजार बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित  

    काठमाडौं । नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका थिए । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको हाे ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुरानो गरी १ लाख १७ हजार क्षयरोगका बिरामी छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन् । यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर रहेका छन् ।

    उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उनले बताए । तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका रहेका छन् । ‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्’, उनले भने, ‘ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती रहेको छ ।’

    सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले  निको हुने गर्दछ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक २ हजार २ सय रहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ ।

    आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् । केन्द्रका निर्देशक डा.ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा १ हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले क्षयरोगको अन्त्यका लागि मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

    उनका अनुसार यस रणनीतिअनुसार स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको सुधार, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चितामा संलग्न गरिनेछ ।

    यस्तै देशका विभिन्न ४ स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना गर्ने, समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार तथा लागू गर्ने, केन्द्रीय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन गरी सातवटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विस्तार गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

    सचिव डा.पोखरेलले क्षयरोग नियन्त्रणमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले अहिले पनि क्षयरोगका बिरामी पत्ता लगाउन कठिन भएको उल्लेख गर्दै निजी संघसंस्थाको पहलमा सहकार्य गरेर क्षयरोगका बिरामी पत्ता लगाई उपचार गर्नुपर्ने बताए ।

    विश्व स्वास्थ्य संगठनका नेपालका प्रमुख डा.राजेश पाण्डवले क्षयरोग केन्द्रित सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी उपचार गर्नुपर्ने बताए । उनले स्थानीय तहलाई नेपाल क्षयरोग मुक्त घोषणा अभियानमा सहभागिता गराई नेपाललाई चाँडै नै क्षयरोग मुक्त घोषणा गर्नुपर्नेमा जोड दिए ।

    सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तह क्षयरोग मुक्त अभियान आगामी चार वर्षभित्र सबै स्थानीय तहमा सञ्चालन गरिने केन्द्रका निर्देशक डा.ठाकुरले जानकारी दिए ।

    आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ८४ जिनएक्सपर्ट केन्द्र तथा उपचार सेवाअन्तर्गत ५ हजार ५०३ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र, ६ डिआर होस्टेल र एक डिआर होममार्फत सेवा प्रदान गरिएको छ । 

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले स्थानीय तहबाट नै क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताए । प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराइरहेका बिरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको बताए ।

    क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ ।

    ‘लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरू देखापरेमा रोग लागेको हुन सक्छ’, उनले भने, ‘यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ ।’ विश्व स्वास्थ्य संगठनको २०२० को प्रतिवेदनअनुसार विश्वभरि ९९ लाख मानिसहरू क्षयरोगबाट पीडित भएको र तीमध्ये वार्षिक १५ लाखको मृत्यु हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij