वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा बन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब बन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको बन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले बन क्षेत्रमा क्षति पुर्याउँदै आएको हुँनाले डढेलो नियन्त्रण गर्न पूर्वतयारीका लागि व्यवस्था गरिएको हो ।
डिभिजन बन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिए । उनले जिल्लामा रहेका सब बन डिभिजनमा अग्नि नियन्त्रकको व्यवस्था भएको बताए ।
‘हरेक डिभिजनमा दुईजना नियन्त्रक राखेर बनमा डढेलो नियन्त्रणसम्बन्धी सूचना संकलनदेखि नियन्त्रणका लागि समन्वय गर्न भनिएको छ,’ उनले भने, ‘यहाँ ६ वटा डिभिजन डढेलो नियन्त्रण र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सचेत छन् ।’
केही दिनअघि मात्र डिभिजन बनसँगै सबै सब डिभिजनले साताव्यापी बन डढेलो व्यवस्थापन सम्बन्धित जनचेतनामूलक सप्ताहसमेत गरेको थियो । ‘अग्नि नियन्त्रक सामग्रीका लागि यस वर्ष बजेट आएन,’ सूचना अधिकृत अवस्थीले भने, ‘गत वर्ष खरिद गरिएका सामग्री प्रयोगमा ल्याइनेछ ।’
कञ्चनपुरमा ७८ हजार हेक्टर बन क्षेत्रमा पर्छ । बन डढेलोका कारण जनधनको समेत क्षति हुनसक्ने भएकाले त्यसका नियन्त्रणका लागि सेना, प्रहरी, बन उपभोक्ताहरूसित पनि समन्वय हुने गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि डढेलो लाग्ने गरेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज प्रशासनले पनि डढेलो नियन्त्रणका लागि पूर्वतयारी गरेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij