वेबटिभी खबर
नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्रयाक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा बुधबार एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्रयाक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गरेका छन् । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्न यस अभियानले टेवा पुग्ने बताए ।
दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र सबै नागरिकको रहेको उनले बताए । रातिको समयमा ट्रयाक्टर नदेखिँदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ ।
‘भित्री सडकमा बत्ती पनि हुँदैन, रातिमा ट्रयाक्टर देखिँदैन्, जसले गर्दा मोटरसाइकल लगायतका अन्य सवारी ट्रयाक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुने गरेको पाइएको छ’, उनले भने । उनले स्टिकर टाँसेपछि रातिमा पछाडीबाट आउने अन्य सवारी साधनले ट्रयाक्टर देख्ने र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताए ।
उनले चालु वर्षमा मात्रै ८ वटा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले आवश्यक कागजात भएकाले मात्रै ट्रयाक्टर चलाउनसमेत अनुरोध गरे ।
रातिको समयमा ट्रयाक्टरको ट्रली नदेखिँदा धेरै दुर्घटना हुने गरेकाले न्यूनीकरण गर्न अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले जानकारी दिए । दुर्घटना न्यूनीकरणमा प्रहरीले मात्रै गरेर नहुने भएकाले व्यवसायीसँगसमेत समन्वय गरेर अभियान सञ्चालन गरिएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij