वेबटिभी खबर
झापा । जिल्लामा कोरोना संक्रमणदर शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । टुसा कम बिक्री हुन थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यवसायिक रूपमा कुरिलोको खेती सुरु गरेका थिए ।
त्यसबाट विगतमा मनग्य आम्दानी गरेका किसान अहिले बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका-३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिड संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।
‘कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे’, उनले भने, ‘अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो ।’
योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो । सुरूका दिनमा प्रतिकिलो १ हजार ४०० मा बिक्री गरेको कुरिलो हाल थोक मूल्य ४०० ले बिक्री गरिरहेको किसानको भनाइ छ ।
योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्ला बाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभइ पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भएपनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।
उनले मेहनत गरेर उत्पादन गरेको कुरिलोको टुसा नाश हुन नदिनका लागि सस्तो दरमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिए । ‘खेर जान दिनुभन्दा त सस्तो मूल्यमा बिक्री गरेपनि थोरै आम्दानी त हुन्छ’, उनले भने, ‘निराश छैनौं बजारको खोजीमा छौं, कुरिलोको गुण र महत्वका बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij