वेबटिभी खबर
लमजुङ । रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । लमजुङ क्व्होलासोथार गाउँपालिका-६ पसगाउँमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेको हो । अहिले उक्त पुलको काम ५ प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वडा नं-५ को सिङ्दी, वडा नं-६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं-८ जोड्ने उक्त पुल यही फागुन महिनाभित्र सम्पन्न हुने कार्यालयका इञ्जिनीयर लोकेस राईले जानकारी दिए ।
उनका अनुसार पुलमा रंगरोगन गर्ने लगायत काम मात्र बाँकी रहेकाले यसै महिनाभित्रमा पुलको काम सम्पन्न हुने उनको भनाइ छ । २०७७ भदौ १४ गते बोलपत्र गरेर निर्माण अघि बढाइएको उक्त पुल आगामी चैत १३ गते सम्पन्न गर्ने सम्झौता भएपनि तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न हुने भएको छ ।
प्रदेश सरकारको २ करोड ८० लाख ६६ हजार ७४५ रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण पछि दुबै जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij