वेबटिभी खबर
म्याग्दी । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा महाशिवरात्रिको दिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन र पूजाअर्चना गरेका छन् भने साढे ३ लाखभन्दा बढी भेटी संकलन भएको छ ।
बेनी नगरपालिका-९ मा अवस्थित गलेश्वरधाममा महाशिवरात्रिको दिन मंगलबार साँझसम्म मन्दिरमा दर्शन र पूजाआजाका लागि ३० हजार बढी भक्तजन आएका र सोही दिन ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटी चढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका कोषाध्यक्ष बालकुमारी रोकाले बताए ।
शिवरात्रिमा सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको उनले जानकारी दिए । मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा करिब तीन घण्टासम्म गनेर सार्वजनिक गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
‘कोरोना पछि भक्तजनको भीड लागेको थियो, अघिल्ला शिवरात्रिको तुलनमा झण्डै १ लाख बढी भेटी संकलन भएको छ’ उनले भने । संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटिलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ ।
ठूला पर्वमा भोलिपल्टै र नियमित रुपमा महिनाको दुई पटक गन्ने गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए । कोरोना भाइरसको जोखिमका कारण गत वर्ष सामान्य पूजा भएकोमा यसपटक महाशिवरात्रि पर्वका अवसरमा भक्तजनको भीड बढेको हो ।
गलेश्वरधाममा भगवान शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिंगको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन लगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ गौमुखी धारा जडान भएको छ ।
गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको जल्ले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij