Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

  • 751
    SHARES
  • झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

    झापा । झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तर सम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ ।

    बिहीबार र शुक्रबार जिल्लाका ३ ग्यास उद्योग र ५ पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए ।

    ‘बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौं’, अनुगमन समितिका संयोजक न्यौपानेले भने, ‘कहिलेकाहीं मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौं ।’

    अनुगमन टोलीले भद्रपुर-६ मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर-१४ को मेची ग्यास उद्योग र विर्तामोड-२ मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो । ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएको बारेमा टोलीले प्राविधिक परीक्षण गरेको थियो ।

    सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टकलगायतको बारेमा टोलीले अनुगमन गरेको थियो । झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल र कागजपत्र ठीक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ ।

    यसैगरी टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प र भद्रपुरको सन्तोष ट्रेडिड गरी छ पेट्रोल पम्पमा अनुगमन गरेको थियो । अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    ‘पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागजपत्र लगायतका विषय परीक्षण गर्दा ठिकै पाइयो’, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, ‘तर, केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौं ।’

    टोलीले ग्यास उद्योग र पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन गरेको थियो । ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो । अनुगमन टोलीले खाद्य पसलमा अनुगमन गर्दा मेचीनगरका ३ वटा किराना पसललाई जरिवाना गरेको छ ।

    मेचीनगर-६ को गाउँले मासु पसल, देव खुश्वु किराना पसल र मेची मिष्ठान्न भण्डारमा नाप तौलका गुणस्तर कायम नभएका कम्प्युटर काटा उपकरण जफत गरिएको अधिकारीले बताए । बजारमा म्याद गुज्रिएका सामान नबेचिउन र गुणस्तरमा लापर्बाही गर्ने व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न जिल्लाका सबै पालिकामा बजार अनुगमन निरन्तर रुपमा गरिने अनुगमन समितिका संयोजक न्यौपानेले जानकारी दिए ।

    उनले अनुगमनको क्रममा व्यवसायीलाई उपभोग्य वस्तुको लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, नापतौल, पसल सञ्चालनको अनुमतिपत्र, नवीकरण पत्र अद्यावधिक गर्न निर्देशन दिने गरेका छन् ।

    अनुगमनका क्रममा म्याद सकिएका सामग्री जफत गर्ने, नापतौलका उपकरण जफत गर्ने र पटक पटक सचेत गराउँदासमेत अटेर गर्ने व्यवसायीलाई कारबाही गरिँदै आएको उनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij