वेबटिभी खबर
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।
बन्दीपुर गाउँपालिका-४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । ‘तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छौं, अहिले धमाधम काम भइरहेको छ’, उनले भने ।
केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताए । उनका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ ।
‘कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भयो, कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएका छौं’, उनले भने । लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ ।
केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ । यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा ३ सय रहेकामा त्यसलाई बढाएर ५ सय पुर्याइएको छ । होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ ।
शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । २०७५ साल साउन पहिलो साता शिलान्यास भई २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड-१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो ।
अब २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij