वेबटिभी खबर
बागलुङ । तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा बागलुङमा उद्यान निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका-२ अर्गल, गयारमा बन्ने सहिद उद्यानमा संरचना र पूर्वाधार निर्माणले गति लिएको हो ।
गयार त्यहीं ठाउँ हो जसलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रुपमा प्रयोग गरेको थियो । २०५८ साल मंसिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पर्यटनको नमूना योजनाका रुपमा सहिद उद्यानलाई अगाडि बढाइएको बताए । ‘यहाँका पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवद्र्धनका लागि १६ करोडको लागतमा डिपिआर तयार पारिएको छ, सहिद उद्यान पनि त्यसैमा पर्छ’, उनले भने, ‘उद्यान निर्माणमा चार/पाँच करोड खर्च हुने आँकलन छ, यो गाउँपालिकाको बहुवर्षीय योजना हो ।’
यस वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट उद्यान विकासका लागि छुट्टाइएको १० लाख र जनश्रमदानसमेत गरी कूल ११ लाख १८ हजारको लागतमा पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।
संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाले बनाइएको छ । लामीडाँडा सामुदायिक बन क्षेत्रको १ हजार २९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैंचा, विश्रामस्थल, धारा, शौचालयसहित अन्य पूर्वाधार बन्न बाँकी रहेको छ ।
आर्थिक स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । संघीय सरकारको पर्यटन मन्त्रालयबाट बजेट उपलब्ध गराउनपहल भइरहेको उनको भनाइ छ । जनयुद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धमा जिल्लाकै बढी असर परेको ठाउँ हो ।
त्यहाँका दुई जना अझै बेपत्ता छन् । ‘ताराखोलाका मात्रै नभएर अन्यत्र घर भएपनि यस ठाउँमा शहादत प्राप्त गरेका सहिदको पनि उद्यानमा सालिक रहन्छ’, अध्यक्ष घर्तीले भने । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ ।
कुनै समय युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्येमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । शहीद उद्यान बन्दा त्यसले नयाँ पर्यटकीय आकर्षण बढ्ने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
‘उद्यान निर्माणले सहिदको योगदानको स्मरण र सम्मान त हुने नै छ योसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुनेछ’, उनले भनिन्, ‘युद्ध पर्यटनका माध्यमबाट ताराखोलालाई चिनाउने हाम्रो उद्देश्य हो ।’
अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरु कैँयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । ती ठाउँको चिनारी र प्रवद्र्धनलाई पनि पर्यटन विकासको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा समावेश गरिएको छ ।
यस्तै, वडा नं ५ को करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरिने, गाईघाट झरनाको सौन्दय बढाउने, हिले, भुस्कातलगायत पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडागरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij