वेबटिभी खबर
टीकापुर । मालपोत कार्यालय टीकापुरमा चालु आर्थिक वर्षको पुस महिनासम्म २ हजार ९०५ लिखत पारित भएकामा १ हजार ४७ लिखत महिलाका नाममा पारित भएका छन् ।
मालपोतको तथ्यांकअनुसार १ करोड ५ लाख १४ हजार ५३५ महिलाका नाममा रजिष्ट्रेसन गर्दा छुट पाइएको छ । महिलाका नाममा रजिष्ट्रेसन हुने जग्गा कारोबार हेर्दा ३६ प्रतिशत पुगेको मालपोत कार्यालयका नायब सुब्बा सर्वनन्द चपाईले बताए ।
‘२५ प्रतिशत छुट पाउने भएपछि महिलाका नाममा रजिष्ट्रेसन गर्ने परिवार बढ्दै गएका छन्’, चपाईले भने, ‘जसले करोड बढी रकम छुट पाइएको छ, यो सरकारले दिएको अधिकार महिलाका नाममा सम्पत्ति बढेमा महिला आर्थिकरुपमा सबल हुन्छन् भनेर हो, यसको सकारात्मक प्रभाव बढ्दै गएको छ ।’
समाज रुपान्तरण हुँदै जाँदा चेतनाको विकास भएका र सरकारी नीतिबारे जानकारी पाएका र महिलाका नाममा सम्पत्ति दर्ता हुँदा रकम छुट पाइने चेतना बढेपछि याे क्रम बढेको अधिकारकर्मी चन्द्रावती शर्मा बताइन् ।
‘महिला र पुरुष समान हुन्, समान भएपनि हाम्रो समाजमा महिलालाई पुरुषभन्दा कमजोर छन् भने चित्रण गरिएको छ’, शर्माले भनिन्, ‘पुरुषभन्दा महिला कमजोर वा घर व्यवस्थापनको जिम्मा बढी दिइँदा सम्पत्तिमा महिलाको अधिकार स्थापित हुन नसकेको हो, तर पछिल्लो समय सम्पत्तिमा महिलाको अधिकार स्थापित गराउन सरकारले नीतिगतरुपमै अभियान चालेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij