काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान राप्रपामा समाहित भएको छ। मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। ‘समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा रहेको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्ने प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। शाहीले अभियानका नाममा गैरकानूनीरुपमा सरकारी कार्यालयमा छापा हान्ने र कर्मचारीको हुर्मत लिने काम गर्दै आएका थिए।
यस्तै बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग अदालतमा राजनीतिक दबाब र प्रभावको दुष्परिणामको निरन्तरता भएको ठहर गरेको छ। ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अदालतको मर्यादा विपरीत न्यायाधीशहरुले इतिहासमै पहिलोपटक हडताल गर्ने, कानुन व्यवसायीले निरन्तर आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको छ, यो चिन्ताजनक स्थिति हो ।’
महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको भन्दै राप्रपाले प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहने जनाएको छ। महाअभियोगको खेलमा पार्टी समावेश नहुने राप्रपाले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij