वेबटिभी खबर
काठमाडौं । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेका छन् । आर्थिक अभाव र जनचेतनाको कारणले दुई तिहाई क्यानसर भएका बालबालिका उपचारबाट वञ्चित भएका हुन् ।
कान्ति बाल अस्पतालका निर्देशक डा.अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने संख्या जोड्दा अझै धेरै संख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताए । अहिले एक तिहाई मात्र उपचार गर्न गरेका छन् ।
आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ । धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको निर्देशक डा.रायमाझीले बताए ।
‘क्यान्सरको उपचार खर्चालु छ, दुई/तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्’, उनले भने, ‘अभिभावकलाई क्यान्सर रोग उपचार गरेनिको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ । ’
सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको र एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।उनकाअनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरेर वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् ।
नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये १ हजार ५ सय बालबालिका रहने गरेका छन् । बालबालिकालाई रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गौलाका ट्युमर जस्ता क्यान्सर लाग्ने गरेका छन् ।
नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगंगा आँखा अस्पताल लगायतमा उपचार हुन्छ ।
कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.विष्णुदत्त पौडेलले बाल क्यान्सर उपचारगरे ७० प्रतिशतलाई निको हुने बताउछन् ।
क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पुर्याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सृदढीकरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । पौडेलकाअनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो ।
अस्पतालका निर्देशक पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताए । ‘अहिले हुने खानेले मात्र आफ्ना बालबालिकालाई पाठेघरमा हुने क्यान्सरको खोप लगाएका छन्’, उनले भने, ‘सरकारले नै बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउन सकेधेरै बालबालिका क्यान्सरबाट बच्न सक्ने थिए ।’
यस्तै तिलगंगा आँखा अस्पतालकी आँखा रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताइन् । पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो समस्या हुने उनको भनाइ छ ।
उनकाअनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एक जनामा देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगंगामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको छ ।
यस्तै पाटन अस्पतालका बालरोग तथा क्यान्सर रोग विशेषज्ञ डा.सुचारिका तुलाधरले अस्पतालमा दुई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिइन् । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij