वेबटिभी खबर
खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान ऐसेलुखर्कबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक शेखर मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा दुर्घटनामा परेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई घाइते भएका छन् । हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएका राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij