Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

  • 618
    SHARES
  • ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

    कञ्चनपुर । कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराइएको छ ।

    तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीकाअनुसार तरकारी खेतीका लागि नगरपालिकाका ९ वडामध्ये वडा नं १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो ।

    ‘तरकारीखेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा अनुदानमा रकम सिधैं खातामा उपलब्ध गराउने व्यवस्था मिलाएका थियौं’, अधिकृत धामीले भने, ‘अनुदान रकमसँगै तरकारी खेतीका लागि तालिम दिने कार्य, माटो परीक्षण र आइपिएम पाठशाला सञ्चालन गरिएको थियो ।’

    त्यसबाट व्यावसायिक तरकारी खेतीमा संलग्न दुई दर्जन बढी समूहमा आबद्ध किसान लाभान्वित भएका हुन् । किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरी आत्मनिर्भर भएको अधिकृत धामीले बताए ।

    जैविक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने नीति लिएको छ । चालु आवमा समेत सो कार्यक्रमअनुसार कम्तीमा समूहमा आवद्ध किसानले पाँच बिघा जग्गामा तरकारी खेती गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएकाे छ ।

    ‘कृषिलाई व्यावसायीकरण गरी किसानलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरेका हौं’, उनले भने, ‘बाली विविधिकरणसँगै बाँझो जग्गाको सदुपयोग गर्नका लागि सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।’

    किसानलाई कार्यक्रमअनुसार मागका आधारमा अनुदान रकम उपलब्ध गराइँदै आएको छ । तरकारी खेतीका लागि प्रस्ताव पेश गरेका समूहलाई गत वर्ष ३ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको थियो । चालु आवमा व्यावसायिक खेतीका लागि प्रतिसमूहलाई २ लाखकादरले अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij