वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिकजसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन् । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए ।
गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा केही गरौँ भन्ने बिचार गर्दै घुम्ती चियाको व्यापार सुरुगरेका उनले अहिले दैनिक ३ देखि ४ हजारसम्मको चियाको व्यापार गरिरहेका छन् ।
‘चिया राख्ने भाँडो (हटपट) खरिद गरेर यहाँ पसल-पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु’, चन्दले भने, ‘मेहेनत गरे कमाउनका लागि विदेशिनुनै पर्छ भन्ने होइन रहेछ ।’ चियामा थोरै लगानी र राम्रो आम्दानी हुने गरेको छ ।
दैनिक १५० देखि २०० कप चिया बिक्री हुने गरेको बताउँदै उनले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताए।‘आफ्नै भूमिमा काम गर्ने भन्दै अवुदाबीमा मासिक १ लाख बचत हुने जागिर छाडेर यहाँ आएँ’, उनले भने, ‘अहिले बजारमा चिया बेचिरहँदा मिश्रित खालको प्रतिक्रिया पाए पनि म सन्तुष्ट छु ।’
यहाँको आर्दश विद्या निकेतनबाट प्रवीणता प्रमाणपत्र तह उत्रिर्ण गरेका चन्दले परिवारबाट पनि सहयोग पाउँदा आफूले सानै भएपनि राम्रै व्यापार गरिरहेको बताउछन् ।
‘बीचको समयमा कोरोनाका कारण यहाँ आए पनि केही काम गर्न सक्ने अवस्था थिएन’, उनले भने, ‘अहिले कालो चिया प्रतिगिलास १५ र दूध चिया २० का दरले बिक्री गरिरहेको छु ।’
चन्दले घरमै चिया तयार गरेर बजारमा दैनिक बिक्री गर्ने गरेका छन् उनले यहाँको बजार, बसपार्क, कभर्डहललगायत क्षेत्रमा चिया बिक्री गर्दै आएका छन् ।
बेलुकी ५ बजेपछि मात्रै अलि फुर्सद हुन्छ’, उनले भने, ‘दिनभरिजसो ग्राहकको चियाको प्यास मेटाउने काममै हुन्छु’, चन्दले चिया व्यापारलाई नै दीर्घकालीनरूपमा अघि बढाउने सोच बनाएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij