Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बलेवा विमानस्थलमा अझै हुनसकेन कालाेपत्र

बलेवा विमानस्थलमा अझै हुनसकेन कालाेपत्र

  • 518
    SHARES
  • बलेवा विमानस्थलमा अझै हुनसकेन कालाेपत्र

    गलकोट । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन सकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक/पटक प्रभावित बन्दै आएको छ ।गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन ।

    २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भएपनि धावनमार्ग कालोपत्र भने हुन् नसकेको हो ।

    निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि वासु थापाले कोरोना महामारी र वर्षाका कारण कालोपत्रको काम पटक/पटक प्रभावित बनेको भन्दै आगामी फागुनभित्रै काम सम्पन्न गरी हस्तान्तरण गरिने दाबी गरेका छन् ।

    ‘कोरोना मुख्य कारण हो, कोरोना कम हुनासाथ काम थाल्छौं, पानी परेर सडक बन्द हुन्छ,’ थापाले भने ‘कालोपत्र गर्ने कच्चा सामग्रीको प्लान्ट खोज्नै एकवर्ष लाग्यो, अहिले प्लान्ट तयारी छ, सडक समेत सञ्चालनमा छ तर मौसम खुलेको छैन, विमानस्थलको कालोपत्रबाहेक अन्य काम एकवर्ष पहिलै सकिएको हो, अबको दुई हप्तामा काम सुरु हुन्छ, सरासर भए १० दिनमै कालोपत्र सक्छौं ।’

    धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिल्यै सकिएर धानवनमार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए ।

    ओझाकाअनुसार ठेकदारका कारण नभएर कोरोना महामारी र मौसमका कारण कालोपत्र गर्न नसकिएको तर अब फागुनभित्रै कालोपत्र गर्ने तयारीमा निर्माण व्यवसायी रहेको छ । करिब २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो ।

    नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए तर अहिले विमानस्थल बन्द छ । उक्त विमानस्थल बागलुङ नगरपालिका-१४ नारायणस्थानमा अवस्थित छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

    कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर कच्ची सडक छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने बताइन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij