वेबटिभी खबर
सर्लाही । सर्लाहीको दुई अलग स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको कारमा लागुऔषध लुकाएर सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको अवस्थामा कविलासी नगरपालिका–८ बाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–८ बस्ने ४३ वर्षीय अख्तर हुसैन र ईश्वरपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ ।
उनीहरु सवार एच आर २६ बि एफ १८७६ नम्बरको कारमा डाइलेक्स डिसी (१०० एम.एल.) ११ बोतल, नोफिन फेर्नगन ११ एम्पुल र हाइ टेक इन्जेक्सन ३ थान बरामद भएको छ । हुसैनको साथबाट उक्त लागुऔषध बरामद भएको हो । लागुऔषध बरामद भएपछि हुसैन र कार चालक लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधप बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी मलंगवा नगरपालिका–७ गणेशिया टोलबाट २० किलो ९ सय ग्राम गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५ बस्ने ३० वर्षीया करिश्मा मोक्तान गाँजसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
गणेशियामा चेक पोइन्ट राखेर सवारी साधन र पैदल यात्रुलाई चेक गर्ने क्रममा प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुमा सवार मोक्तानको साथबाट गाँजा बरामद भएको बुढाथोकीले जानकारी दिएका छन् ।
लागुऔषधसहित पक्राउ परेका तीन जनामाथि आवश्यक अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij