वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयरको चढेको गाडी बुधबार तोडफोड भयो । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उनीहरू चढेको गाडीमा लाठीले हानेर क्षतविक्षत बनाए ।
गाडीमा मेयर गणेश प्रसाईं, उपमेयर रेणुका पौडेल, एमाले केन्द्रीय सदस्य कमला महतो र हरिवनका खेमराज भट्टराई थिए । जनकपुरको राम मन्दिर नजिकै उनीहरूको गाडी पुग्दा अचानक जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । दमकल हाँक्ने चालक विदामा बसेकाले जीप चालकलाई दमकल हाँक्नु पर्ने हुनसक्छ भनेर मतदान गर्न जाँदा मेयर प्रसाईंले नै नगरपालिकाकाे जीप हाँकेर लगेका थिए ।
जनमत पार्टीले किसानको समर्थनमा निरन्तर प्रदर्शन गर्दै आएकोमा बुधबार ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै मतदानको दिन पारेर बिहानदेखि जनकपुरमा प्रदर्शन जारी राखेको थियो ।
जीपमा सवार उपमेयर पौडेलले प्रदर्शन गरिरहेका जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले लखटेकै बेला आफूहरू त्यहाँ पुगेको बताइन् । ‘प्रहरीले बल प्रयोग गरेर लखटेकै बेला हामी त्यहा पुगेका रहेछौं,’ उनले भनिन, ‘त्यसपछि सरकारी गाडी देख्नासाथ लाठी बोकेर आएका प्रदर्शनकारीले हाम्रो जीपमा धमाधम प्रहार गर्न थाल्नुभयो ।’
एक्कासी प्रदर्शनकारी सबै उल्टिएर आक्रमण गरेको पौडेलले बताइन् । नजिकै सुरक्षाकर्मी पनि थिएनन् । नगरपालिकाको नयाँ जीप भएकाले सिसा र ढोका तोडफोड गर्न केही समय लाग्यो ।
‘त्यहीबीचमा स्थानीय केही मद्दतका लागि आउनु भयो,’ पौडेलले भनिन्, ‘कमला दिदी र मलाई उहाँहरूले लगेर सटरभित्र लुकाउनु भयो, प्रदर्शनकारीले मेयरसा'ब र खेमजीमाथि आक्रमण गरे । हामीले चिच्याउँदै गुहार माग्यौं । त्यसपछि उहाँहरूलाई पनि स्थानीयले ल्याएर सटरमै लुकाउनु भयो ।’ सटरमा लुकाउपछि पनि बाहिरबाट लाठीले हान्दै सटर तोड्ने प्रयास भएको पौडेलले बताइन् ।
‘त्यो सम्झँदा धन्न बाँच्यौं भन्ने लाग्छ,’ उनले भनिन्, ‘त्यहाँ पसल गरेर बस्ने मानिसहरू हामीलाई बचाउन नआएको भए जे पनि हुन सक्थ्यो ।’ प्रहरी भने केही बेरपछि मात्र घटनास्थलमा पुगेको थियो । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईं र भट्टराई घाइते भएका छन् ।
जनमत पार्टीका एक नेताले तिरहुतिया गाछिमा अश्रुग्यास र हवाई फायर गरेर प्रहरीले प्रदर्शनकारी लखटेकै बेलामा उक्त जीप आएकाले घटना हुन पुगेको बताए । ‘त्यसरी अचानक आक्रमण हुनु पुगेकोमा हामीलाई खेद छ,’ ती नेताले भने, ‘तर, प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर लखटेको बेला परेकाले आक्रोशमा त्यस्तो हुन पुग्यो । हामी त्यसका लागि दुःखी छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij