Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना महामारीका बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन

कोरोना महामारीका बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन

  • 532
    SHARES
  • कोरोना महामारीका बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन

    बुटवल । कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यकाे नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् ।  

    लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका लागि छुट्टयाइएका ६० बेड  भरिएका छन् । तर, व्यवस्थापन समितिमा नयाँ नियुक्ति हुन नसक्दा उपचारका लागि अस्पताल  प्रशासनलाई चुस्त  बनाउनुपर्ने काममा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

    लुम्बिनी प्रदेश सरकारले केही समयअघि प्रदेशभरका अस्पतालमा विकास समितिका अध्यक्षसहित सदस्यलाई हटाएको थियो । हटाएका ठाउँमा नयाँ नियुक्ति गरिएको छैन ।

    लुम्बिनी प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन् । जसमा तीनवटा साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ११ आयुर्वेद अस्पताल छन् ।

    अस्पतालका पदाधिकारी हटाएको सरकारले प्रदेशका १२ वटै जिल्लामा कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत अनुगमन गर्न मन्त्री संयोजक रहेको अनुगमन समिति गठन गर्ने भएको छ । जसअनुसार सबै मन्त्रीलाई जिम्मा दिएर अस्पताल अनुगमनदेखि रोकथामका काम गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

    प्रदेश सरकारले भारतसंगको सीमा नाकामा एन्टिजेन परीक्षण र निगरानीलाई कडाइ गरिएको जनाएको छ । तर, सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत कर्मचारी नै संक्रमित भएपछि स्वास्थ्य परीक्षण समेत प्रभावकारी हुन सकेको छैन । हेल्थ डेस्कमा जनशक्ति अभाव हुँदा कतिपय परीक्षण नै नगरी नेपाल प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका सबैजसो अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेको छ । 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता शर्माले अस्पतालमा अध्यक्ष तथा अन्य पदाधिकारी नभएर कुनै काम नरोकिने बताए । यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनको भनाई  छ । 'सरकारले छिटै नयाँ व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारी गरेको छ,' उनले भने ।

    अस्पतालका नियमित काम नरोकिएको भन्दै मन्त्री शर्माले पहिलेको भन्दा थप व्यवस्थित बनाइने दावी गरे । यसअघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेशन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने उनको भनाई छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij