वेबटिभी खबर
चितवन । विगतका वर्षहरूमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।
स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए ।
कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उनले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गरे। उनले भने, ‘सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।’
यस वर्ष बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको जानकारी दिए ।
उनले भने, ‘रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।’ स्थानीय प्रशासनले बिहानबाट हिड्न दिएपछि भने केही भक्तजन सो क्षेत्रमा पुगेका छन् । यद्यपि विगतका वर्षको तुलनामा यस वर्ष यहाँ भक्तजन निकै न्यून देखिएका छन् ।
देवघाट मेला भर्न झण्डै ५ लाख भक्तजन आउने अपेक्षा गरिएको थियो । मेलाको औपचारिकरूपमा शुक्रबार बिहान बेनीमा लिङ्गो गाढेर शुभारम्भ गरिएको थियो । बिगतका वर्षहरूमा भक्तजनको ठूलो संख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो ।
सङ्क्रान्तिको अघिल्लो रात शुक्रबार धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij