वेबटिभी खबर
सर्लाही । उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दंग भएका छन् । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दंग भएका हुन् ।
माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि सर्लाहीका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको छ । माघे सङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।
गत वर्षको तुलनामा तरुलले दोब्बर मूल्य किसानले पाएका छन् । गतवर्ष प्रतिकिलो ३५ देखि ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो ५० देखि ८० मा बिक्री भइरहेको छ । यसवर्ष १० कठ्ठा जमिनमा तरुल खेती गरेको र राम्रो मूल्य पाउँदा खुसी लागेको वाग्मती नगरपालिका-८ शङ्करपुरका किसान जंगबहादुर महतोको भनाइ छ ।
उनले खेतबाटै प्रतिकठ्ठा २५ हजारका दरले व्यापारीले तरुल किनेर लैजाने गरेको बताए । सबै खर्च कटाएर तरुल खेतीबाट प्रतिकठ्ठा १८ देखि २० हजार आम्दानी हुने गरेको किसानको भनाइ छ । माघे सङ्क्रान्तिमा विशेष प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लग्ने गरेको किसानले बताए ।
व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पुर्याउने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ ।
तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, मलखाद र गोडमेल गर्दा ७ हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानको भनाइ छ । यो मौसममा तरुल प्रतिकठ्ठा २८ हजारदेखि ३० हजारसम्म आम्दानी हुने किसानको अपेक्षा छ । राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।
उनका अनुसार यस क्षेत्रमा झुसे(पाताले)र रातो तरुलको खेती हुँदै आएको छ । जिल्लामा यसवर्ष करिब २८५ हेक्टर क्षेत्रफलमा तरुलखेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५०० टन तरुल उत्पादन हुने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij