वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्ष बनेका हुन् । प्रचण्ड अध्यक्ष भएको एक दिनपछि बाबुरामले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् बधाई दिएका हुन् ।
‘नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुन: निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हार्दिक बधाई तथा शुभकामना !’ डा.भट्टराईले ट्वीटरमा लेखेका छन् ।

प्रचण्डलाई बधाई तथा शुभकामना दिंदै डा.भट्टराईले प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुग्ने अपेक्षा गरेका छन् ।
‘प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा !,’ डा.भट्टराईले लेखेका छन् ।
डा.भट्टराई पूर्वमाओवादी नेता हुन् । उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij