वेबटिभी खबर
काठमाडौं । बाल्य अवस्थाको खानपानले नै मानिसको युवावस्था र वृद्ध अवस्थाको स्वास्थ्य निर्धारण गर्छ । त्यसैले शिशु अवस्थामा पोषणयुक्त खानपानमा विशेष जोड दिइने चलन पनि रहि आएको छ ।
बच्चाको उचित शारीरिक र मानसिक विकासको लागि प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन डी, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्वको आवश्यकता पर्छ । यी सबै पोषक तत्वले शारीरिक र मानसिक विकासकासाथै शरीरको उचाइ बढाउन मद्दत गर्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार पोषक तत्वको अभावमा बालबालिकाको मानसिक र शारीरिक विकासमा नकारात्मक असर पर्छ । बालबालिकालाई फलफूल, अन्न, सागपात, दुधजन्य खाद्यपदार्थ बढी खुवाउनु पर्छ । पौष्टिक र सन्तुलित भोजनको लागि सूची बनाएर त्यसको पालना गर्दा बढी प्रभावकारी हुन्छ ।
बाल्य अवस्थामा खुवाउनु पर्ने खानाहरु
बदाम
बालबालिकालाई दैनिक बदाम खुवाउनु पर्छ । यसले स्मरणशक्ति, दृष्टि र मानसिक विकासमा मद्दत गर्छ । बदाममा धेरै प्रकारका खजिन, भिटामिन र स्वस्थ बोसो पाइन्छ । जसले शरीरलाई धेरै फाइदा गर्छ । दैनिक भिजाएको बदाम खाँदा स्वास्थ्यमा फाइदा हुन्छ । बदामले हड्डीलाई बलियो बनाउने काम गर्छ । यसमा पाइने पोषक तत्व भिटामिन ई ले बच्चाको उचाइ बढाउन सहायक भुमिका निभाउँछ ।
अन्डा
प्रोटिनले भरिपूर्ण अन्डा स्वास्थ्यको लागि धेरै लाभकारी मानिन्छ । दैनिक एक अन्डा खाँदा हड्डी बलियो हुनुकासाथै हड्डी निमार्णमा पनि सहयोग गर्छ । अन्डाबाट भिटामिन डी पनि पाइन्छ । यसले हड्डीलाई क्याल्सियम अवशोषण गर्न मद्दत गर्छ ।
दुधजन्य खाद्यपदार्थ
प्रोटिनकासाथै हड्डी बलियो र हड्डी संरचना राम्रो बनाउनको लागि क्याल्सियमको आवश्यकता पर्छ । दुधजन्य खाद्यपदार्थ जस्तै दही, पनीर, दुध र लस्सीमा भरपूर मात्रामा क्याल्सियम पाइन्छ । दुधबाट फस्फोरस र म्याग्नेसियम पनि प्राप्त हुन्छ । जसकारण बच्चाको उचाइ बढ्छ । दैनिक एक गिलास दुध पिउँदा ८ ग्राम प्रोटिन प्राप्त हुन्छ । जुन मांशपेशीको निमार्णमा पनि सहायोगी हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij