दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतंकले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् ।
खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । ‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतंकबाट हैरानै भइयो’, श्रेष्ठले भने, ‘बाँदर आतंकबाट छुटकारा चाहिएको छ ।’
यहाँका कृषकलाई बाँदर आतंकबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जंगलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । बाँदर आतंक न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरिएको हो ।
सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जंगलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिए ।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ ।
उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुई÷तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जंगलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ ।
म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ । म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिने गरेको गुनासो गरे ।
म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij