ऋतु काफ्ले
काठमाडौं । हायात होटल रिजेन्सीको पहिलो गेटबाट ३ मिनेट हिँडेपछि टुसाल पुग्नुअघि दोस्रो गेट आउँछ । उक्त गेटको भित्तामा ठूला अक्षरमा लेखिएको छ, तारागाउँ संग्राहलय । नेपालको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको दस्तावेज जगेर्ना गर्ने उद्देश्यले स्थापित एकमात्र संग्रहालय हो तारागाउँ ।
संग्रहालयको दृश्यले जो सुकैलाई पनि लोभ्याउँछ । नवविवाहित एक जोडी दृश्यमा लोभिदै फोटो खिचिरहेका थिए । मेरो नजर भने संग्राहलय भवनमा पर्यो । जहाँ एउटा भित्तामा धनुषाबाट आएका महिला कलाकारले भुसमा मुछेको माटोबाट भित्तामा मिथिलाको झिझिया नृत्यको दृश्यलाई आकृति दिँदै थिए । यो आकृति उनीहरूले माघबाट सुरु हुने ‘काठमाडौं ट्रेनाले’ महोत्सवका लागि तयार गरेका हुन् ।
तारागाउँ संग्रहालय २०१४ मा एक निजी संग्रहालयको रूपमा खोलिएको थियो । त्यसभन्दा पहिले यहाँका भवन ७० को दशकमा पर्यटन प्रवर्द्धन गर्न होस्टेलको रूपमा प्रयोग गरिन्थे । संग्रहालयको भवन अस्ट्रियन वास्तुकार कार्ल प्रुसाले डिजाइन गरेका हुन् । जसलाई नेपालमा आधुनिक वास्तुकलाको पहिलो क्लस्टरको रूपमा चिनिन्छ । यस भवनलाई संग्रहालयको रुपमा परिकल्पना सराफ फाउन्डेसन फर हिमालय ट्रेडिसन एन्ड कल्चरका संस्थापक अरुण सराफले गरेका हुन् । र जर्मनीका आर्किटेक्ट नील्स गुत्सवले संग्राहलय स्थापना कालदेखि अहिलेसम्म संग्रहालयको विभिन्न कामहरूमा सहयोग गर्दै आएका छन् ।

संग्रहालयका निर्देशक रोशन मिश्रका अनुसार डेढ सय जतिबाट सुरु गरिएकाे संग्रहालयमा अहिले ५० हजारभन्दा बढी वास्तुकलासँग सम्बन्धित समाग्री छन् । जसमा पाण्डुलिपि, डिजिटल फोटो, भिडियो, चित्रलगायत अन्य नेपाली कलाका संस्कृति र सम्पदा सम्बन्धि समाग्रीहरु संकलित छन् । यी समाग्री संकलनमा पनि गुत्सवको नै सहयोग रहेको छ ।
गुत्सव जर्मनीका नागरिक भए पनि उनले जर्मनीको इतिहासभन्दा बढी नेपालको इतिहास बारे झण्डै दुई दर्जन पुस्तक लेखेका छन् । उनलेनै नेपालबारे अध्ययन गरेका आफ्ना समकालीन र अरू व्यक्तिसँग सम्पर्क गर्न मद्दत गरको निर्देशक मिश्रको भनाइ छ ।
संग्रहालयका निर्देशक मिश्र नेपालको परिवेशमा यो भवन निकै महत्त्वपूर्ण रहेको बताउँछन् । ‘नेपालमा ६० को दशकपछि बनेको भवनहरूमा यो महत्त्वपूर्ण भवन हो,’ मिश्र भन्छन्, ‘यस संग्राहलयभित्रका प्रदर्शनी भन्दा भवन हेर्न आउनेहरूको संख्या बढी छ ।’
तारागाउँ रिजेन्सी होटल्सले तारागाउँको सञ्चालन गर्छ । संग्रहालयमा हुने प्रदर्शनी तथा कार्यक्रम गर्न सराफ फाउन्डेसन फर हिमालय ट्रेडिसन एन्ड कल्चरले सहयोग गर्छ । निजीस्तरमा सञ्चालित यो संग्राहलय निःशुल्क अवलोकन गर्न सकिन्छ ।

संग्रहालयमा काठमाडौं उपत्यकाका महत्वपूर्ण सम्पदाहरूको चित्र, तस्बिर र नक्साहरू देख्न सकिन्छ । ती सबै प्रायः सन् १९५० पछि नेपाल आएका विदेशी कलाकार, फोटोग्राफर, वास्तुकार, अनुसन्धानकर्ताहरु र विशेषज्ञहरुले बनाएका हुन्।
संग्राहलयको सबभन्दा पुरानो संकलन सन् १८६३ को भक्तपुरको फोटो हो । बेलायतका हेनरी ओल्डफिल्ड र राजमान चित्रकारका चित्रका नक्कल कपी पनि यहाँ संकलित छन् । संग्राहलयमा भक्तपुरका अधिकांश मन्दिर र पाटन दरबार क्षेत्रका संरचना झल्किने चित्र छन् ।
तीमध्ये क्लारेन्स कम्न टेलरले सन् १८६३ मा बनाएको भैरव मन्दिर, सन् १९७२ मा एर्विन स्नेडियरले खिचेको भक्तपुर र पाटनको एरियल फोटाहरु पनि सुरक्षित छन् । त्यसैगरी, जोन ह्यारिसनले सन् १९९३ मा बनाएको मुस्ताङको चित्र, १९७१ मा कोन्सट्यान्टी गुत्सवले बनाएको दत्तात्रय मन्दिर, रोबर्ट पावेलले १९८२ मा बनाएको साँखु, साथै थोमस केलफ र लुईजी फिनीले खिचेका काठमाडौंका तस्बिरहरू यहाँ संकलित छन् ।
सन् १९७० दशकमा जर्मनीका वास्तुशिल्पी वुल्फ ग्याङ कोर्नले काठमाडौं आउँदा काष्ठमण्डपको रेखाचित्र बनाएका थिए । उनीजस्तै विभिन्न देशबाट आएका कलाकारले बनाएका काठमाडौं सम्पदासँग जोडिएका दस्तावेजहरू तारागाउँमा सुरक्षित छन् ।

०००
तारागाउँभित्र पुस्तकालय पनि छ । पुस्तकालयमा आर्किटेक्चरका पुस्तक छन् । जो कोहीले संस्कृति-सम्पदासम्बन्धी अध्ययन-अनुसन्धान गर्न चाहे स्रोतसमाग्री प्रशस्त छन् ।
संग्रहालयमा पुस्तकालय सँगसँगै समकालीन आर्ट ग्यालरी, क्याफे र एउटा अभिलेख पनि छ । परिसरभित्र तीनवटा एम्फीथिएटरहरू पनि छन् । जसमा कला प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरू गरिन्छ । सन् २०१८ मा समकालीन आर्ट ग्यालरी सञ्चालनमा आएपछि नेपालका कलाकारहरूका कला पनि प्रदर्शन गर्न थालियो । ‘सन् २०१८ कन्टमप्रोरी आर्ट ग्यालरी सुरु भएपछि नेपालमा भएका कलाकारहरूको कला प्रदर्शन गर्न थालियो,’ मिश्रले भने, ‘यहाँ जो कोहीले पनि आएर आफ्नो कला प्रदर्शन गर्न पाउँछ ।’

तारागाउँको पवर्द्धक संस्था सराफ फाउन्डेसन फर हिमालय ट्रेडिसन एन्ड कल्चरले २०१६ बाट सुरु गरेको ‘नेपाल आर्किटेक्चर आर्काइभ (एनएए)’ पनि छ। विदेशीहरूले नेपाल आएर खोज अनुसन्धान गरेका रिसर्च मटेरियल आर्काइभमा रहेको र त्यहीका समाग्रीहरु प्रायः तारागाउँ प्रदर्शनीमा राखिने गरिएको मिश्र बताउँछन् । ‘काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदाहरूको जिर्णोद्धार गर्नुपरे त्यसको वास्तविक स्वरूप थाहा पाउन हामीसँग भएको अभिलेखले निकै मद्दत पुर्याउँछ,’ मिश्रले वेबटिभी खबरसँगको कुराकानीमा भने, ‘पुराना ओर्जिनल र नासिन सक्ने दस्तावेजहरु आर्काइभ गरेका छौं । कुनै कुनै समाग्री पुस्तकालयमा पनि सुरक्षित छन् ।’
यस्तै विभिन्न कार्यक्रमअन्तर्गत ‘तारागाउँ लेक्चर सिरिज’ कार्यक्रम प्रत्येक वर्ष हुने गर्छ । यो कार्यक्रम गर्न थालिएको ८ वर्ष भएको मिश्रले बताए । उनले भने, ‘फाउण्डेसनको सहयोगमा नेपालको बारेमा काम गरेका विदेशीहरूलाई ल्याएर उनीहरुको कामको बारेमा प्रदर्शनी गराइन्छ ।’
०००
१३ वर्ष बेलायत बसेर नेपाल पर्किएका रोशन काठमाडौंकै बासिन्दा हुन । उनी सन् २०१३ को माघमा तारागाउँमा निर्देशकका रूपमा आवद्ध भए । त्यहाँ आवद्ध भएपछि रोशनले यसको स्थायी संग्रह, समकालीन कला ग्यालेरी, पुस्तकालय र नेपाल आर्किटेक्चर आर्काइभ (एनएए) को व्यवस्थापन गर्दै आएका छन् । उनी काठमाडौं विश्वविद्यालयमा रिसर्च, आर्काइभिङ, डकुमेन्टेशन पढाउँछन् । उनले नेपाल र बेलायतमा ललितकलाको अध्ययन गरेका छन् भने डिजिटल आर्टमा स्नातकोत्तर गरेका छन् ।

ग्लोबल नेपाली म्युजियम
रोशन नेपालकै पहिलो अनलाइन संग्रहालय ग्लोबल नेपाली म्युजियमका सञ्चालक हुन् । उनले इन्टरनेटबाटै विदेशमा रहेका नेपाली पुरातात्विक सामग्रीहरू विश्व समुदायलाई जानकारी गराउँछन् । यसमा विभिन्न देशमा रहेका नेपाली मूर्तिकला, रेखाचित्र, समकालीन कला, सांस्कृतिक वस्तु, चित्र र पाण्डुलिपिको तस्बिरसहित विस्तृत जानकारी उपलब्ध हुन्छ । अनलाइन संग्राहालयको मुख्य उद्देश्य पनि यही हो ।
अनलाइनबाट हराएका मूर्तिका तस्बिर एकत्रित गरेर त्यसबारे जानकारी लिन सकिने रोशनको भनाइ छ । ‘लोप हुँदै गएका हाम्रा पुरातात्विक सामग्रीको अस्तित्व जोगाउन यो अनलाइन सञ्चालनमा ल्याएको हुँ’ उनी भन्छन्, ‘सरकारले यसको सुरक्षाका लागि कुनै कदम नचालेका बेला मैले अनलाइनमार्फत् ती सामग्रीबारे सबैलाई जानकारी दिने कोशिस गरेको हुँ । ’
वेबसाइटमा मूर्तिकला, रेखाचित्र, समकालीन कला, सांस्कृतिक वस्तु, चित्र, पाण्डुलिपि र तस्बिर गरी छवटा वर्ग छुट्टयाइएको छ । त्यसमा अन्तर्राष्ट्रिय संग्रहालयहरूमा राखिएका १९ औं शताब्दी अगाडिका नेपाली वस्तुहरूको विस्तृत विवरण पाइन्छ ।
नेपालबाट के कति सम्पदाहरु बाहिरिए, ती बाहिरिएका सम्पदाहरू कहाँ कहाँ छन् भन्ने डेटा राख्नका लागि नेपाली ग्लोबल म्युजियमको स्थापना गरिएको मिश्रले बताए ।
पुरातात्विक सामग्रीहरूको खोजी
रोशन नेपाली पुरातात्विक सामग्रीहरूको खोजी कार्यमा पनि लागेका छन् । यसका लागि उनले अभियाननै चलाएका छन् । उनी भन्छन्, ‘कुनै समय हाम्रा मठमन्दिरका मूर्ति तथा बहुमूल्य सामग्रीहरू अवैध रूपमा देशबाहिर बिक्री भएका थिए । अहिले पनि त्यस्ता सामग्री बेचबिखन भइरहेका छन् । नेपालका ती प्राचीन धरोहर कहाँ बेचिए र कुन देशमा छन् भन्ने कसैलाई थाहा छैन । सरकारले पनि खोजबिन गरेको छैन ।’
‘जनवरी २०२१ देखि ‘नेपाल हेरिटेज रिकोभरी क्याम्पिएन’को नामबाट हामी नेपालबाट बाहिरिएका मूर्तिहरुलाई फिर्ता ल्याउने अभियानमा हामी लागेका छौँ,’ उनले भने, ‘हामीले यो अभियानलाई नन प्रोफिट अर्गनाइजेशनका रुपमा दर्ता गरेका छौँ ।’

गएको १० महिनामा विभिन्न देशका म्युजियममा भएका मूर्तिहरु कहाँबाट हराए, कुन म्युजियममा छन्, भन्ने कुराको पुरातात्विक विभागसँग पनि समन्वय गरेर नेपालबाट बाहिरिएका २५-३० वटा नेपाली देवीदेवताका मूर्तिहरु पहिचान गरिएको उनले बताए ।
आगामी योजना
रोशनले आफ्ना स्वर्गीय पिता मनुजबाबु मिश्रको कामलाई प्रदर्शन गर्न उद्देश्यले मिश्र म्युजियमको परिकल्पना गरेका छन् । उनका पिता मनुजबाबु नेपालका प्रख्यात कलाकार र कला लेखक थिए । अब छिट्टै पिताको नाममा ‘मिश्र म्युजियम’ सञ्चालन गर्ने उनको भनाइ छ । यस म्युजियममा मनुजबाबुले गरेका स्केच, चित्र, फोटो, पाण्डुलिपि, पुस्तकालय र उनका व्यक्तिगत सामानहरू राखिनेछ । उनी भन्छन्, ‘अहिले मसँगका लागि सबै सामग्री छन् । ती समाग्रीहरू मैले सुरक्षित आर्काइभ गरेको छु । तर मसँग ती समाग्रीहरू राख्ने भवन छैन । त्यसैले मैले मेरो बुबा बसेको घरलाई नै संग्राहलयमा परिणत गर्ने योजना बनाएको छु ।’

सबै तस्बिरहरू तारागाउँ संग्रहालय
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij