Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सभामुख सापकोटा र अर्थमन्त्री शर्माकाे विकासप्रेम : जहाँ समस्या त्यहाँ समाधान

सभामुख सापकोटा र अर्थमन्त्री शर्माकाे विकासप्रेम : जहाँ समस्या त्यहाँ समाधान

  • 907
    SHARES
  • सभामुख सापकोटा र अर्थमन्त्री शर्माकाे विकासप्रेम : जहाँ समस्या त्यहाँ समाधान

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रविसेदेखि नेपाल-चीन सीमानाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले २०७७ साल असार २४ गते राती आएको बाढी र पहिरोले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरे । त्यसपछि हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल चीन सिमा क्षेत्र मितेरी पुलको अवलोकन गरे ।

    अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयको उपस्थिति थियो ।अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही वर्ष यताको लगातारका बाढी र पहिरोका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयात निर्यातबारे जानकारी लिए ।

    अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापार सम्बन्धी छलफलमा सहभागिता जनाए । छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाका सम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रुपमा लैजानु पर्ने आवश्यकता औंल्याए ।उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल-चीन सम्बन्धमा ऐतिहासिक महत्त्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।

    sapakota.jpg

    भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रविसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौति भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयात निर्यात सहजिकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडक खण्ड सुधारका लागि सरकारी प्रतिवद्धता अनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

    छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । मन्त्री शर्माले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए । उनले सरकारले चीनसँग समन्वय गरेर सडक निर्माण र भन्सार सहजीकरणका लागि पलह गर्ने जानकारी दिँदै राजमार्ग व्यवस्थित गर्न काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

    भन्सार विभागका महानिर्देशक सहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो । छलफलमा स्थानीय जनप्रतिनिधि र व्यवसायीहरुले जुरे पहिरोदेखि सीमा नाकासम्मको सडकलाई सरकारले प्राथमिकता दिनुपर्ने, बाढी र पहिरोका कारण जोखिममा रहेको बस्ती संरक्षणमा ध्यान दिइनु पर्ने, हाल सडक सुधारका लागि कार्यरत चिनियाँ पक्षसँग माथिल्लोस्तरबाट समन्वय गरी उनीहरुबाट चिनियाँ भूमिका जस्तै गुणस्तरीय निर्माण कार्य गर्ने व्यवस्थाका लागि सभामुख र अर्थ मन्त्रीमार्फत पहल हुनुपर्ने धारणा राखेका थिए ।

    सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो स्थानमा २०७१ साल यता लगातार ठूला प्राकृतिक बिपत्तिले सडक मार्ग नराम्ररी बिग्रन पुगेको छ । जसका कारण सबैभन्दा बढी अरनिको राजमार्गअन्तर्गत बलेफीदेखि नेपाल चीन सीमा नाकासम्मको सडक खण्डमा क्षति भएको छ । २०७१ साउन १७ गतेको जुरे पहिरोदेखि बिग्रेको राजमार्ग क्षेत्र पुनर्निर्माण नहुँदै २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बिग्रन पुग्यो । केही सुधारका काम हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले अरनिको राजमार्गअन्तर्गतका धेरै स्थानमा क्षति पुगेको हो ।

    sapakota and sharma.jpg

    २०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बनेको थियो भने अरनिको राजमार्ग अबरुद्ध बन्न पुगेको थियो । २०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाएपछि सो क्षेत्रको सकको अवस्था थप जीर्ण बन्न पुग्यो । २०७७ असार २४ गते राती बाह्रविसे नगरपालिका वडा नं ५ को जम्बु बजार क्षेत्र र बाह्रविसे कै खागदलमा बाढी र पहिरोले बस्ती-सडक परियो भने पक्कि पुल समेत बगेको थियो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे, डाकलाङ र लार्चामा पनि पक्कि पुल सहित सडकमा ठूलो क्षति भएको थियो ।

    २०७६ सालको अन्त्यबाट विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो । भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका ब्यवस्थित गर्न र राजमार्ग व्यवस्थित गरी सुचारु गर्न सभामुख सापकोटाको पहलमा काम हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij