Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कृष्णनगरमा हैजा फैलिएको आशंका, एक रातमै ५० बढी बिरामी थपिए 

कृष्णनगरमा हैजा फैलिएको आशंका, एक रातमै ५० बढी बिरामी थपिए 

  • आश्विन २०, २०७८ बुधवार १०:१९ बजे
  • 504
    SHARES
  • कृष्णनगरमा हैजा फैलिएको आशंका, एक रातमै ५० बढी बिरामी थपिए 

    कपिलवस्तु ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् । 

    रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।

    प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए । मंगलवार साँझ ६ बजे सम्म १२० जना शिवराज अस्पताल बहादुरञ्जमा भर्ना भएका थिए । भर्ना भएकामध्ये २० जनालाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवलतर्फ थप उपचारका लागि पठाइएको छ ।मंगलवार रातिदेखि बुधवार बिहानसम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ । जम्मा प्रभावितको संख्या एकिन हुन सकेको छैन ।

    चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको ७, ८ र ९ वडाका सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

    कृष्णपुरले प्रदेश सरकारसँग माग्यो 

    झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ ।   झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५० जना बिरामी परेपछि नगरपालिकाले लुम्बिनी सरकारसँग औषधि र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको हो ।  

    ‘यस विषयमा प्रदेश सरकारसँग कुराकानी भएको छ, उहाँहरूले थप औषधि र चिकित्सक पठाउने भन्नु भएको छ,’  नगरपालिकाका मेयर रजतप्रसाद शाहले भने । उनका अनुसार झाडापखलाबाट करिब २५० जना बिरामी परेका छन् ।  अहेब विष्णु पौडेलका अनुसार झाडापखला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवाबाट मंगलबार दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटाएको थियो । तर, उक्त टोली फर्किसकेको छ । 

    तौलिहवाको टोली फर्केसँगै प्रदेशबाट आज दुई जना चिकित्सकसहितको टोली आउन लागेको उनले जानकारी दिए ।   बहादुरगन्जस्थित शिवराज अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि निजी क्लिनिकमा पनि उपचार भइरहेको छ । शिवराज अस्पतालमा एकमात्र चिकित्सक छन् ।  

    झाडापखालाबाट कृष्णनगर-९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भइसकेको छ ।  कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो ।

    पौडेलका अनुसार कृष्णनगर नगरापलिका–७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका झाडापखलाबाट ग्रसित छन् । गम्भीर बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # हैजा
  • # कपिलवस्तु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij