एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु टोली एफसी पोर्टोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल गरे। घरेलु टोलीका मेहेदी तारेमीले एक गोल फर्काए ।
मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको १८औं मिनेटमा मोहम्मद सलाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साडियो मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए ।
६०औं मिनेटमा सलाहले कर्टिन जोन्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७५औं मिनेटमा मेहेदी तेरेमीले फावियो भिइराको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
त्यसपछि सब्सिच्युट रोबर्टो फिर्मिनाले दुई गोल गर्दै लिभरपुलको जित पक्का गरे । ६६ औं मिनेटमा सलाहको स्थानमा मैदान छिरेका फिर्मिनोले ७७औं मिनेटमा कर्टिस जोन्सको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा फिर्मिनो व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितपछि लिभरपुल २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij