Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कर्णालीका दुई स्थानीय तहले ल्याएनन् बजेट

कर्णालीका दुई स्थानीय तहले ल्याएनन् बजेट

  • 485
    SHARES
  • कर्णालीका दुई स्थानीय तहले ल्याएनन् बजेट

    सुर्खेत । स्थानीय तहहरूले १० असारभित्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर,कर्णालीका दुई स्थानीय तहले अझै पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन् ।

    सल्यानको वनगाडकुपिण्डे नगरपालिका र दैलेखको भैरवी गाउँपालिकाले निर्धारित समयभन्दा चार महिना पछिसम्म पनि नीति तथा कार्यक्रम र बजेट नल्याएका हुन् ।

    वनगाडकुपिण्डे नगररपालिकामा जनप्रतिनिधिबीच बजेट बाँडफाँटको कुरा नमिल्दा बजेट आउन नसकेको हो । विवाद मिलाउन असारदेखि हालसम्म तीन पटकसम्म बैठक बसे पनि सहमति हुन नसकेको नगरपालिकाका उपप्रमुख मञ्जु ऐरीले बताइन् ।

    ‘गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबीच विवाद भएको छ ।’ उनले भनिन्, ‘केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबीच विवाद छ ।’ अबको १० दिनभित्र नगरसभा गरिसक्ने उपप्रमुख ऐरीले जानकारी दिइन् ।

    दैलेखको भैरवी गाउँपालिकामा कर्मचारी राख्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा नीति तथा कार्यक्रम र बजेट आउन सकेको छैन । कांग्रेस र एमालेका जनप्रतिनिधिबीच आफ्ना कार्यकर्तालाई कर्मचारीमा भर्ना गर्ने विषयमा विवाद हुँदा गाउँसभा हुन सकेको छैन ।

    गाउँपालिकाले चार वर्षदेखि नै समयमै गाउँसभा सञ्चालन गर्न सकेको छैन । नीति तथा कार्यक्रम र बजेट नआउँदा यी दुई पालिकाका कर्मचारी तलब, विकास निर्माण र दैनिक कामकाज पनि प्रभावित भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij