वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन भएको नभइ केही लोभीपापी बाहिरिएको बताएका छन् ।
प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रम उनले भने, ‘केही अवसर खोज्ने साथीहरू चर्न जानुभएको हो । यसले पार्टीलाई केही फरक पर्दैन, यत्तिकै भरमा एमाले विभाजित भयो भन्नु तर्कसंगत छैन ।’
अवसरवादीहरूले पार्टी परित्याग गरेपछि पार्टीले काँचुली फेरेर नयाँ स्वरुप लिएको पौडेलले बताए ।
पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभइ लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाएको उनले आरोप लगाए ।
‘यो भद्दा अवसरवाद हो । उहाँहरू अवसरका लागि जनताको बहुदलीय जनवादसमेत त्यागेर जानुभएको छ’ उनले भने, ‘एमालेमा फर्केर आउन नचाहेका कारण जबज छोडेर जानुभएको हो, उहाँहरूको अन्तै विलिन हुने सोच यसबाटै प्रष्ट हुन्छ ।’
गठबन्धन सरकारले एमालेलाई क्षति पुर्याउनकै लागि दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गरे । ‘हिम्मत छ भने एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदबाट पारित गर्नुहोस्,’ पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले चेतावनी दिए ।
पूर्वअर्थमन्त्री पौडेलले आफूले ल्याएको बजेटमाथि भइरहेको संशोधन अपरिपक्व भएको बताउँदै कुनै खोट भए देखाउन आग्रह गरे । ‘बजेटमा के समस्या छ, आउनुस्, बहस गरौं, कुन विषयमा असहमति हो ?’ उनले प्रश्न गरे ।
जनादेशबाट नभई परमादेशबाट बनेको अहिलेको सरकारले जनताको हितमा काम गर्न नसक्ने पौडेलले दावी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij