वेबटिभी खबर
काठमाडौं । राउटे समुदायमा पछिल्लो समय पैसाको मोह बढेको छ । 'पैसा छोए पाप लाग्छ' भन्ने लोकोक्ति रहेको यो समुदायमा पछिल्लो समय पैसा मोह बढेको हो ।
बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्ति प्रवेश गरेर राउटेहरूलाई पैसा दिन थालेपछि अहिले उनीहरूमा पैसाको मोह बढ्न थालेको हो । बाहिरका मानिस आएर उनीहरूलाई पैसा बाँड्न थालेपछि राउटे समुदाय मदिराको लतमासमेत लागेको पाइएको छ । अहिले बस्तीमा पुग्ने जो कोहीसँग उनीहरू मदिरा र पैसा माग्न थाल्ने भएका छन् ।
घना जंगलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदायनजिक र सहर बजार आसपासमा बस्नाका साथै मदिरा र विषादी हालेका खानेकुरा पनि खान थालेका छन् । राउटे समुदायमा काम गर्ने बहानामा विभिन्न संघसंस्था भित्रिन थाले पनि उनीहरूको अवस्थामा भने सुधार आउन सकेको छैन ।
बरु अत्यधिक मदिरा सेवनका कारण केहीको ज्यान गएको बस्तीमा काम गर्दै आएका स्वास्थ्यकर्मी तीलक बिसी बताउँछन् । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन ।
एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्युपछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् ।
दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आएकी दुर्गा खत्रीले बताइन् । ‘राउटेले बाहिरकाले भनेको मान्दैनन्,’ उनले भनिन्, ‘गलत व्यवहारलेले गर्दा नै उनीहरूको अस्तित्व संकटमा परिरहेको छ ।’
राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले दशकअघि बस्तीमा पुग्दा उनीहरूको संख्या २ सय ६८ रहेकामा घटेर अहिले १ सय ३७ पुगेको बताइन् । अन्य समुदायबाट अलग्गै बस्ने र जंगलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ ।
बाह्रैमास घलेक (राउटे समुदायले लगाउने कपडा) को भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुवैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र बस्तीविकास र सहरीकरणका कारण आफूहरूको जंगल विनाश हुँदै गएको राउटेको गुनासो छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij