वेबटिभी खबर
एजेन्सी । अफगानिस्तानमा तालिवानी शासनको उदयसँगै बेलायत, अमेरिका र यूरोपेली संघसमेत सबै देशहरुले आआफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लगिरहेका छन् ।
काबुलको एयरपोर्टमा मानिसहरुको भिडको कारणले पाइला टेक्ने ठाउँ पनि छैन । यस्तो अवस्थामा त्यहाँका नागरिक देश बाहिर जान पाइने आशमा भिडमा ठेलमठेल गरिरहेका छन् । एयरपोर्टसम्म पुग्न मानिसहरु तालिवानीले सृजना गरेका बाधा अड्चनलाई पार गर्दै अमेरिकी सैनिकहरुसँग सहयोगको लागि अपिल गरिरहेका छन् ।
एयरपोर्टमा रहेका पश्चिमी देशका अधिकारीकाअनुसार आइतबारसम्म १७ हजारभन्दा बढी व्यक्तिहरुले काबुल सहर छोडेका छन् ।
भारत, कतार, यूरोपेली संघ, बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्यान्ड, डेनमार्क, टर्की, स्विजरल्यान्ड, हंगेरी, पोल्यान्ड, अष्ट्रेलिया र जापानका नागरिक बाहिरिएका हुन् ।
काबुल छाड्न ज्यानको बाजी
तालीवानीहरुले अफगानिस्तानलाई नियन्त्रणमा लिएसँगै राजधानी काबुल एयरपोर्टमा देश छाड्नेको सबैलाई स्तब्ध पार्ने खालका तस्बिरहरु सार्वजनिक भइरहेका छन् ।
जसमध्ये १६ अगस्टमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सार्वजनिक भएको एउटा भिडियो सबैभन्दा डरलाग्दो थियो । त्यो भिडियोले संसारको ध्यान तान्यो । त्यो दृष्यले जो कोहीको मनमा चिसो पस्छ ।
काबुल एयरपोर्टमा अमेरिकी विमानको चक्कामा लुकेर तीनजना अफगानी नागरिक देश छोड्न चाहान्थे । विमानले उडान भरेपछि सयौं फिटको उचाईबाट तीनजना तल खसे । ज्यान बचाउन अफगानिस्तान छाड्न लागेका उनीहरको दुःखद निधन भयो ।
त्यसमध्ये दुईजना एउटा घरको छतमा खसेका थिए । त्यस घरका घर मालिक सेक्युरिटी गार्ड हुन् । ४९ वर्षीय यी सेक्युरिटी गार्डको नाम वली सालेक हो । उनले यस घटनालाई दुखदायी क्षण भएको बताएका छन् ।
विमानबाट खसेर तीन जनाको मृत्यु भएको थियो । तेस्रो व्यक्ति राष्ट्रिय फुटबल खेलाडी थिए । जसको नाम जकी अनवरी थियो । अफगानिस्तानको खेल मन्त्रालयले जकी अनवरीको विमानबाट खसेर मृत्यु भएको पुष्टि गरेको छ ।
‘सोमबार परिवारका सबै घरमै थियौं । अचानक छतमा केहीे पड्किएको जस्तो आवाज आयो,’ सालेक भन्छन्, ‘कुनै ठूलो गाडीको टायर फुटेको जस्तो लाग्यो । म दौडिएर छतमा गएँ । त्यहाँ दुईजनको लास थियो । त्यो दृष्य हृदयविदारक थियो । दुईवटैको टाउको फुटेको थियो । शरीरपनि क्षतविक्षप्त अवस्थामा थियो । मेरी श्रीमती यो दृष्य देखेपछि बेहोस भइन् ।’
सालेकका एक छिमेकी जो टिभी हेरिरहेका थिए । उनी सालेकको घरमा आएर बिमानबाट केही व्यक्ति खसेको समाचार सुनाए । त्यसपछि उनीहरु मिलेर दुवै लासलाई नजिकैको एक मस्जिदमा लिएर गए ।
तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि सञ्चारमाध्यमबाट विश्वभरका नागरिकले काबुल एयरपोर्टको अवस्था हेरिरहेका छन् । अझै पनि धेरै नागरिकहरु देश छोडेर भाग्न चाहान्छन् । मानिसहरु घरभित्रै लुकेर बस्न बाध्य छन् ।
विमानबाट सालेकको घरमाथि खसेर मृत्यु भएका व्यक्तिहरुको सनाखत भएको छ । दुवैजना ३० वर्षभन्दा कम उमेरका थिए । मृत्यु भएकामध्ये एक जना डाक्टर थिए । जसको नाम सैफल्ला होतक थियो । त्यसैगरि अर्का व्यक्तिको नाम फिदा मोहम्मद थियो ।
‘त्यसदिनबाट हामी देख्दै छौं, काबुल तीव्रतकासाथ परिवर्तन भइरहेको छ,’ वली सालेक भन्छन्, ‘यहाँको बाटोहरु विरानो भएका छन् । पुरुष, महिला, बालबालिका सबै घरभित्र थुनिएर बस्न बाध्य छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij