Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

स्थानीय र प्रदेश निर्वाचन संविधानले दिएको पाँच वर्षे कार्यकालअनुसार हुनुपर्छ : प्रचण्ड

स्थानीय र प्रदेश निर्वाचन संविधानले दिएको पाँच वर्षे कार्यकालअनुसार हुनुपर्छ : प्रचण्ड

  • 53
    SHARES
  • स्थानीय र प्रदेश निर्वाचन संविधानले दिएको पाँच वर्षे कार्यकालअनुसार हुनुपर्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेश सरकारको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार पाँच वर्षको कार्यकाल पूरा हुने गरी गर्नुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताए ।

    उनले संविधान र कानुनले स्थानीय तथा प्रदेश सरकारलाई पाँच वर्षको पूर्ण कार्यकाल दिएको भन्दै सोही व्यवस्थालाई आधार मानेर निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा राखे ।  प्रचण्डले भने, ‘हाम्रो संविधान, विधान, नियमले जसरी चाहिँ पाँच वर्षको पूरै अवधि स्थानीय सरकारलाई पनि, प्रदेश सरकारलाई पनि दिएको अवस्थामा त्यसैलाई संविधान र कानुनलाई आधार मानेर नै निर्वाचन सम्पन्न गराउनुपर्दछ ।’ प्रचण्डले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा फरकफरक समयमा गर्ने भन्ने विषयमा सबै पक्षसँग छलफल गरेर टुंगो लगाइने बताए । दुई निर्वाचनबीच दुई महिना अगाडि वा पछाडि हुनु मुख्य विषय नभएको उल्लेख गर्दै पाँच वर्षको कार्यकाललाई नै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

     प्रचण्डले भने, ‘पाँच वर्ष पूरै अवधि स्थानीयकोलाई पनि दिएको छ, पाँच वर्षको पूरै अवधि प्रदेश सरकारलाई, प्रदेशलाई पनि दिएको स्थितिमा त्यो पाँच वर्षको कुरा नै मुख्य कुरा हो । दुई महिना अगाडि र पछाडिको कुरा मुख्य होइन । तैपनि यो विषयमा सबै पक्ष विचार गरेर अर्को बैठकमा टुङ्ग्याउने भनिएको छ ।’ अध्यक्ष प्रचण्डले निर्वाचन लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि अनिवार्य आधार भएको बताए । अघिल्लो निर्वाचन असहज परिस्थितिमा गर्नुपरे पनि निर्वाचन नै लोकतन्त्रलाई जीवन्त राख्ने र संविधानको रक्षा गर्ने विकल्प भएको उनको भनाइ थियो । उनले भने, ‘निर्वाचन लोकतन्त्रको सुदृढीकरणको निम्ति, संविधानको सुदृढीकरणको निम्ति एउटा अनिवार्य आधार र सर्त हो । अघिल्लो पटक हामी बडो असहज वातावरणमा निर्वाचनमा जानुपरेको थियो । तर त्यस्तो बेलामा निर्वाचन परिणाम के होला भन्ने कुरालाई ध्यान नदिकन हामीले निर्वाचन नै अबको विकल्प हो भन्ने कुरा राख्यौँ ।’

    त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग र राजनीतिक दलहरूले प्राविधिक तथा अन्य तयारी गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । प्रचण्डले भने, ‘विदेशमा रहेका नेपालीहरूले निर्वाचनमा सहभागी गराउने कुरामा हिजो संविधानसभाबाट संविधान घोषणा गर्ने बेलामा नै हामीले भनेको हो कि लाखौँ नेपाली भएको स्थितिमा ती नेपालीहरूको पनि मतदानको अधिकार सुनिश्चित गर्ने बनाउनुपर्छ भनियो । आज हाम्रो छलफलमा यसलाई निर्वाचन आयोगले पनि र राजनीतिक दलहरूले पनि विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको अधिकार सुनिश्चित गर्ने गरी प्राविधिक र अन्य तयारी गर्ने भन्नेतिर पनि भएको छ ।’ प्रचण्डले निर्वाचनको परिणामभन्दा पनि निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र नेताहरूले खेलेको भूमिकाको मूल्यांकन हुनुपर्ने धारणा पनि राखे । आयोगसँगको छलफलमा केही विषयमा सहमति बनेको र केही विषयमा दलहरूभित्र तथा अन्तरदल संयन्त्रमा थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij