वेबटिभी खबर
काठमाडौं । जनता जमाजवादी पार्टी, नेपाल (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपामा संकटको अवस्थामा रहेको महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्नेबारे छलफल अघि बढाएको छ । ११ साउनमा निर्वाचन आयोगबाट यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्ष तत्काल जसपामै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ ।
नयाँ पार्टी गठन गरेपछि साविक पार्टीको सांसद तथा राजनीतिक र राजकीय कुनै पनि प्रकारका पद नरहने संवैधानिक व्यवस्थाका कारण नयाँ पार्टी निर्माणको तयारीलाई ठाकुर पक्षले गोप्य राखेको हो । दर्ता गर्ने अन्तिम चरणमा पुगेको नयाँ पार्टीलाई एकल वा द्विअध्यक्ष प्राणालीमा लाने भन्नेमा आफूपक्षका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिमा ठाकुरले छलफल थालेका छन् ।
स्रोतका अनुसार ठाकुर पक्षका नेताहरु एकल अध्यक्ष प्रणालीमा पार्टी गठन गर्नुपर्नेमा जोड दिइरहेका छन् भने राजेन्द्र महतो पक्षका नेताले दुईजना अध्यक्ष रहनुपर्नेमा जोड दिइरहेका छन् । महतो अहिले जसपामा शीर्ष नेताको जिम्मेवारीमा छ । दुई अध्यक्ष हुने गरी नयाँ पार्टी गठन गरे आफूले नेतृत्व तहको भूमिका पाउने भएकाले महतो दुईजना अध्यक्ष रहने गरी पार्टी दर्ता गर्नुपर्ने अडानमा छन् ।
गतवर्ष पुसयता जसपामा विवाद चलिरहेकै बेला पनि ठाकुर पक्षले नयाँ पार्टी दर्ताको प्रयास सुरु गरेको थियो । यसको मस्यौदा तयार गर्ने जिम्मेवारी डा.सुरेन्द्रकुमार झा र केशव झालाई दिइएको थियो । केशव झाले दुई जना अध्यक्ष्य प्रणालीको पार्टी हुनुपर्ने डकुमेन्ट तयार गरेका थिए भने सुरेन्द्रकुमार झाले एकल अध्यक्ष प्रणालीको पार्टी हुनुपर्ने धारणाबाट अघि बढेका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादवपक्षले पाएपछि ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्नुपर्ने बाध्यता आइलागेको छ । तर यादव पक्षले भने जसपामा नै मिलेर काम गर्न सकिने बताएको छ । ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्दा जसपामा सांसद रहेकाको पद खारेज हुने र स्थाानीय तहका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरु पनि स्वतः पदमुक्त हुने भएकाले यसअघि ठाकुर पक्षमा रहेका सांसद, जनप्रतिनिधि र नेता-कार्यकर्ताले यादव पक्षलाई साथ दिइरहेका छन् ।
निर्वाचन आयोगले ११ साउनमा गरेको ‘हेड एकान्ट’अनुसार जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये यादव पक्षमा ३६ र ठाकुर पक्षमा १५ जना रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij