वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।बुधबार (भोलि) बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको ती सदस्यले बताए । नेता नेपालले सोमबार मात्रै आफूपक्षीय स्थायी कमिटी बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । सो बैठकमा नेताहरुले नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अघि बढाउन आग्रह गरेका थिए ।
बैठकामा नेपालले आफू पार्टी एकताको विपक्षमा नरहेको तर अपमानजनक तरिकाले पार्टी एकता अघि नबढ्ने बताएका थिए । उक्त बैठकले पार्टी एकता विरोधी गतिविधि र अभिव्यक्ति नदिने निर्णय पनि गरेको थियो । भोलि बस्ने बैठकमा नेपालले सरकारमा जाने कि पार्टी एकता गर्नेबारेमा ठोस निर्णय निकाल्ने बुझिएको छ ।
यसैबीच मंगलबार (आज) बसेको एमालेको विघटित कार्यदलका चार सदस्यको छलफलले अध्यक्ष ओलीललाई वरिष्ठ नेता नेपालसँग भेटका लागि वातावरण बनाएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । सरकारमा जाने या पार्टी एकता गर्ने भन्ने विषयमा नेपालपक्षले निर्णय नगर्दा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका शीर्ष नेतालाई मन्त्रीको नाम टुंगो लगाउन र मन्त्रिपरिषद् विस्तार गर्न शंसय भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij