वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । तेस्रो लहर आउन थालेको चर्चा भइरहेकै बेला संक्रमित बढनुलाई स्वास्थ्यविज्ञहरुले चिन्ताजनक भनेका छन् ।
पछिल्लो २४ घण्टामा ४४ हजार ६६७ जना नयाँ संक्रमित भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या २३ दिन यताकै सबैभन्दा बढी हो । यसअघि ७ जुलाईमा ४५ हजार ७०१ जना संक्रमित भेटिएका थिए । त्यसयता संक्रमणको दर घट्दै गएर दैनिक संक्रमितको संख्या ३० हजारभन्दा तल पुगेको थियो ।
संक्रमितको तुलनामा निको हुने संख्या पनि कम भएको छ । ४२ हजार १०७ जना संक्रमित निको भएका छन् । त्यसैगरी ५४९ जनाको संक्रमणकै कारण निधन भएको छ ।
भारतको केरल राज्यमा संक्रमणले बढी आतंक मच्चाएको छ । केरलामा मात्र तीन दिनयता लगातार २२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । बिहीबार त्यहाँ २२ हजार ६४ जना नयाँ संक्रमित फेला परे । भारतमा थपिएका दैनिक संक्रमितमध्ये केरलाका मात्र आधा छन् । हाल भारतमा ३ लाख ९९ हजार सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij