वेबटिभी खबर
काठमाडौं । लेखक तथा सामाजिक अभियन्ता खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् ।
राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेका छन् ।
‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही फरक पार्दैन,’ संग्रौलाले भने,‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैले धम्की दिँदैमा किन डराउँछु ?’
शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा एमाले नेता महेश बस्नेतले, ‘अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ भनेका थिए ।
बस्नेतको उक्त अभिव्यक्तिपछि संग्रौलाले आफूलाई धम्की आएको ठहर गर्दै ट्वीटरमा लेखेका छन्, ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर !’
लेखक संग्रौलालाई गुण्डागर्दी शैलीमा धम्याएको विरोधमा सोमबार बिहानैदेखि कवि लेखकहरूले सामाजिक सञ्जालमार्फत विरोधपूर्ण प्रतिक्रिया व्यक्त गरिरहेका छन् । सत्ताबाट बाहिरिनुपर्दा हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनुपर्ने संग्रौलाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij